जहाज दुर्घटनामा ज्यान गुमाएका थप १० जनाको शव ल्याइयो, हराइरहेको एउटा शव पनि भेटियो

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका थप १० जनाको शव आज बिहान कोवाङ ल्याइएको छ । मानापाथी हिमालको फेदीमा सङ्कलन गरिएका ती शवलाई कैलाश एयरको हेलिकोप्टरमार्फत कोवाङमा ल्याइएको मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताए ।
“सोमबार नेपाली सेनाको हेलिकोप्टरले १० शव काठमाडौँ लगिसकेको छ”, उनले भने, “आज घटनास्थलबाट कोवाङ ल्याइएका शवलाई पनि काठमाडौँ पठाउने तयारीमा छौँ ।”
तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमान हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।
भौगोलिकरूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार २०० मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको हो । थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिँड्नुपर्छ ।
करिब १०० नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेका थिए । अरु फर्किए पनि सेना र प्रहरीको १४ जनाको उद्धारको तालिमप्राप्त सुरक्षाकर्मी सानोसरेमा पाल टाँगेर बसेका थिए । घटनास्थल पुगेर फर्किएका स्थानीयवासी इन्द्रसिंह शेरचनले विमानको पखेटा पहाडमा ठोक्किएर तल झरेको देखिने बताए । “विमान भिरालो पाखोमा ठोक्किएर तल खोंचमा खसेको देखिन्छ”, उनले भने, “शवहरू धार परेको डाँडामा वल्लोपल्लो पाखामा छरिएका थिए । केही तल्लो डिलमुनि पुगेका थिए ।”
सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गर्नुभएको थियो । उनीले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियो पठाइदिएका थिए ।
हराइरहेको एउटा शव पनि भेटियो
तारा एयरको विमान दुर्घटनामा हराइरहेको एउटा शव पनि फेला परेको छ । मुस्ताङमा आइतबार भएको विमान दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो । सोमबारसम्म २१ जनाको शव भेटिएकोमा मंगलबार बिहान थप १ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी रामकुमार दानीले रातोपाटीलाई बताए ।
‘खोँचमा अड्किरहेको अवस्थामा बाँकी शव फेला परेको छ,’ उनले भने । दानीका अनुसार थासाङ–२ को सानसुरेमा रहेको घटनास्थलबाट १० वटा शव कोबाङ ल्याइएको छ । खराब मौसमका कारण समाचार तयार पार्दासम्म २ वटा शव घटनास्थलमा नै रहेको छ । ‘बाँकी दुईवटा शव ल्याएपछि १२ वटा नै शव काठमाडौँ लग्ने तयारी गरेका छौँ,’ उनले भने । सोमबार १० वटा शव काठमाडौँ ल्याइसकिएको छ ।