नवलपरासीः नेताहरु कुर्चीमा पुगे तर, किसानले अझै मल पाएनन
पश्चिम नवलपरासी सहित देशैभर यस वर्ष मलको चरम अभाव हुने देखिएको छ । जिल्लामा रहेका कृषि समाग्रि कम्पनीका मल राख्ने गोदाम प्राय रित्ता छन् । नवलपरासीको सदरमुकाम परासीमा रहेको कृषि समाग्रि कम्पनी लिमिटेडको गोदाममा अहिले थोरै मात्र डिएपि मल रहेको छ ।
कृषि समाग्रि कम्पनीका प्रमुख खडानन्द बन्जाडेका अनुसार जिल्लाभर वितरण गर्न जम्मा ३ सय १ टन डिएपि आएको छ तर उक्त मल जिल्लाभरको लागी अप्रर्याप्त रहेको उनले बताए ।
अहिले गोदामा एक बोरा पनि युरीया छैन् । लुम्बिनी प्रदेशभरका जिल्लालाई वितरण गर्न ३४२९ टन डिएपि आएकोमा नवलपरासी पश्चिमको लागी ३ सय १ टन छुट्टाईएको हो । उक्त मल अहिले जिल्लाका मल वितरण गर्ने सहकारीहरुले सम्बन्धीत क्षेत्रमा लादै आएका छन् ।
जिल्लाभरका ५९ ओटा सहकारीले चालु आर्थिक वर्षका लागी मल वितरण गर्ने कृषि समाग्रि कम्पनी लिमिटेड परासीले जनाएको छ । पालिका अनुसार छुट्टाएर आवश्यकताको आधारमा सम्बन्धीत पालिकाको सिफारिसमा सहकारीहरुलाई मल वितरण गर्न सुरु गरिएको प्रमुख बन्जाडेले बताए ।
गत वर्ष थोरै भएपनि युरीया र डिएपि मलको स्टक भएको भएपनि यस वर्ष युरीया आउदै नआएको र डिएपि पनि थोरै मात्र रहेकाले जिल्लामा मलको चरम अभाव हुने देखिएको छ ।
मल अभावका कारण किसानले सास्ती खेप्दै आएका छन् । हरेक वर्ष मल अभावको समस्या समाधान गर्ने भन्दै सरकारले योजना बनाउने गरेपनि हरेक वर्ष समस्या थप जटिल बन्ने गरेको छ ।
नेपालमा सरकारले उपलब्ध गराउने गुणस्तरीय मलको अभाव भएपछि नवलपरासीका किसानले सिमावर्ति भारतिय बजार बाट लुकाई छिपाई मल खरिद गर्न बाध्य छन् भने कतिपयले तस्करले नेपाल सम्म ल्याएको मल महंगोमा किन्न बाध्य छन् ।
अहिले जिल्लाका किसान धानको बिउ राख्न व्यस्थ छन् तर मल अभावले किसानलाई समस्या पारेको छ । जिल्लामा २९ हजार ९ सय ७५ हेक्टर क्षेत्रफलमा धान खेति हुँदै आएको छ ।