कुवेत पुर्याइएकी महिलाद्वारा उद्धारको अपिल

भारत हुँदै कुवेत पुर्याइएकी बढैयाताल गाउँपालिकाकी ३० वर्षीया महिलाले परिवारसँगको भिडियो कलमा रुँदै उद्धारका लागि अपिल गरेकी छन् ।
मानव बेचबिखन गर्ने दलालले कोठाभित्र थुनेर शारीरिक र मानसिक यातना दिँदै पानीसमेत पिउन नदिएको उनले बताएकी छन् ।
कुवेतको एउटा कोठाभित्र राखिएकै अवस्थामा उनले रुँदै भिडियो कलबाट दलालले भारतमा बेचेपछि त्यहाँबाट आफूलाई कुवेतमा ल्याइएको बताइन् । छोरीको भिडियो हेरेपछि उनका बुबाले जिल्ला प्रहरी कार्यालय, बर्दियामा दोषीमाथि कारबाही र छोरीको उद्धारका लागि निवेदन दर्ता गराएका छन् ।
बढैयाताल गाउँपालिका-९ शक्तिनगरका दौलत रोकायले ठेक्कापट्टाको काममा लगाइदिन्छु भनी प्रलोभन देखाएर गत फागुनमा उनलाई काठमाडौं लगेको र रोकायले भारतीय दलाललाई छोरी सुम्पिएको निवेदनमा उल्लेख छ ।
भारतमा पुर्याएर दलालमार्फत् उनलाई कुवेतमा बेचेको हुन सक्ने प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर शाहीले यस सम्बन्धमा अनुसन्धान र खोजी कार्य भइरहेको जनाए । उनले यो मुद्दाको प्रक्रिया काठमाडौंस्थित मानव बेचबिखनसम्बन्धी प्रहरीको सेलबाट भइरहेको समेत बताए ।