प्रहरीनै लुटेरा ! ३५ लाख लुट्ने हवल्दार पक्राउ

काठमाडौंको लैनचौरबाट ३५ लाख लुटपाट भएको घटनामा प्रहरीकै समूह संलग्न देखिएको छ । जेठ ८ मा लैनचौरस्थित ब्याडमिन्टन कोर्टमा सस्तोमा १ किलो सुन किन्न बोलाएर एउटा समुहले व्यापारीलाई लुटेका थिए ।
सो लुटमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी वृत मालिगाउँका हवल्दार शालिकराम नेपालीलाई पक्राउ गरेको छ । हवल्दार नेपालीलाई प्रहरी वृत सोह्रखुट्टेमा थुनामा राखिएको छ । लुटमा संलग्न अर्का एकजना पनि पक्राउ परेका छन् ।
लुटपाट भएको समयमा हवल्दार नेपाली ब्याडमिन्टन कोर्टमा गएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले लुटमा प्रहरी संलग्न भएको तथ्य औपचारिक रुपमा पुष्टि गरेको छैन् ।
परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले सो घटनाबारे अनुसन्धान भइरहेको बताए । तर, प्रहरी पक्राउ बारे उनले बताउन चाहेनन् ।
लुटपाटमा नेपाल प्रहरी संगित विद्यालय र मानव बेचविखन ब्यूरोमा कार्यरत एकजना प्रहरीको संलग्नता देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए ।