‘इन्डोनेशियाको राजधानी सारिने’
इन्डोनेशियाले आफ्नो राजधानी जकार्ताबाट अन्यत्र सार्न लागेको त्यहाँका योजनामन्त्रीले बताएका छन्।
मन्त्री ब्यामब्याङ ब्रोजोनेगोरोका अनुसार राष्ट्रपति जोको विडोडोले एउटा महत्त्वपूर्ण निर्णय अन्तर्गत राजधानीलाई अन्यत्र सार्ने विषय टुङ्गो लगाएका हुन्। जकार्ता तीव्र गतिमा डुबिरहेका विश्वका शहरहरूमध्ये एक हो।
अनुसन्धानकर्ताहरूका अनुसार सन् २०५० सम्ममा जकार्ताको ठूलो हिस्सा डुबिसक्नेछ।
जकार्ताको आधाजसो हिस्सा समुद्रको सतहभन्दा तल पर्छ। त्यसका प्रमुख कारणमध्ये एउटा पिउन र नुहाउनका लागि जमिनमुनिको पानी तान्नु रहेको बताइन्छ।
राजधानी कहाँ सार्ने भन्नेबारे चाहिँ अझै थाहा हुन सकेको छैन। यद्यपि सरकारी सञ्चारमाध्यममा आएका रिपोर्टहरू अनुसार बोर्निओ टापुमा पर्ने पलाङ्गकराया नयाँ राजधानी हुने बढी चर्चामा छ।