पहिरोका कारण सिंगो गाउँ नै उच्च जोखिममा…!


 



 स्याङ्जामा पहिरोका कारण सिंगो गाउँ नै उच्च जोखिममा परेकाे छ।

 

स्याङ्जाको गल्याङ नगरपालिका–३ गल्याङ बजारका ८० घरधुरी पहिरोको उच्च जोखिममा परेका छन्। १० वर्षदेखि बस्ती नजिकैबाट गईरहेको पहिरोले सिंगो बस्ती नै बगाउने खतरा बढेको छ।




विगत १० वर्षदेखि निरन्तर गइरहेको पहिरोका कारण गल्याङ नगरपालिका वडा नं. ३ को गल्याङमा ८० घर पहिरोको उच्च जोखिममा परेका छन् । ८० घरधुरी रहेको यस गाउँमा करिब ४ सय परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् ।

 

बुटवल पावर कम्पनीले खनेको सुरुङका कारण माथि रहेको गाउँका अधिकांश घरहरु पहिलेदेखि नै चर्किएका छन् । विभिन्न समयमा पहिरो रोकथाम र संरक्षणका लागि कार्यक्रमहरु सञ्चालन भएपनि त्यसले सार्थकता पाउन सकेको छैन । यसतर्फ सम्बन्धित निकायले बेलैमा ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ ।

 

गाउँको पुछारमा रहेको छर्ती खोलास्थित भोर्ले मुनिको ठूलो पहिराको नामले चिनिने यो ठाउँ पहिरोका कारण वर्षा सुरु भएसँगै स्थानीय त्रसित बनेका हुन् । यहाँको जमिन भासिँदै पहिरो बस्ती नजिकै आएकाले अहिले गाउँले समस्यामा परेका हुन् ।

 

पहिराका कारण बस्तीको वरिपरि रहेका खेतमा समेत ठूलाठूला धाँजा फाटेको छ । गल्याङ नगरपालिका र प्रदेश सरकारको सहकार्यमा दश लाख बजेटबाट तटबन्ध काम सुरु भएकोमा पूरै पहिरो नियन्त्रण गर्न थप बजेटको व्यवस्था गर्ने गल्याङ नगरपालिका –३ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

 

बस्तीको दुवैतिरबाट खोलाले घेरिएको र भू-बनोट कमजोर रहेकाले बस्ती भन्दा धेरै तलबाट वरिपरिको पूरै जमिन भासिएको छ । ठाउँ–ठाउँमा निरन्तर पहिरो गएकाले स्थानीय दिनरात त्रासमा छन् ।

 

बस्तीका साथै आँधीखोला जलविद्युुत् गृहमा समेत असर पर्ने देखिएको हुँदा सम्बन्धित निकाय बेलैमा सतर्क रहन जरुरी छ ।

 



सम्बन्धित
Loading...