७० वर्ष नाघेकाले चुनावमा उठ्न नपाउनेगरी कानुन बनाऔँ : योगेश भट्टराई
काठमाडाैं।
एमाले सचिव योगेश भट्टराईले ७० वर्ष नाघेकालाई राज्यको कुनै पनि निकायमा चुनावमा प्रतिस्पर्धा गर्न नपाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजनक विधेयकमाथिको छलफलमा भाग लिँदै उनले अन्य क्षेत्रमा जस्तै राजनीतिमा पनि अवकाशका लागि उमेरहदको व्यवस्था गर्नुपर्ने बताएका हुन्।
‘संविधान अब केही विषयमा संशोधन गर्नुपर्ने हुन्छ। ६५ अथवा ५८ वर्षमा अवकाशका प्रणाली राखेको छौँ,’ उनले भने, ‘तर, राजनीतिक क्षेत्रमा यो अनियन्त्रित छ। अब ७० वर्ष नाघेका मानिसहरू कुनै पनि राज्यका निकायमा चुनावमा उठ्न नपाउने व्यवस्था किन नगर्ने ? हामीलाई र्यालसिंगान काढ्ने, कुर्सीमा बस्ने प्रधानमन्त्री चाहिएको होइन। काम गर्ने चाहिएको हो।’
यस्तै काठमाडौं। प्रमुख प्रतिपक्ष दल एमालेका चारजना सांसदले चार मन्त्रालयका खर्च कटौती गरी एक रुपैयाँ कायम गर्न प्रस्ताव गर्ने भएका छन्।
प्रतिनिधिसभाको जारी बैठकमा एमाले सांसदहरु पदमाकुमारी अर्याल, बिमला बिक, लालबाबु पण्डित र गोकुलप्रसाद बाँस्कोटाले सो प्रस्ताव गर्ने भएका हुन्।
बैठकमा प्रस्तुत विनियोजन विधेयक-२०७९ अन्तर्गत कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अर्यालले, बाणिज्य तथा आपूर्ति मन्त्रालयको बिकले, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पण्डितले र सूचना तथा सञ्चार मन्त्रालयको बास्कोटाले खर्च कटौती गरी एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न लागेको संसद् सचिवालयले जानकारी दिएको छ।