दिदी बहिनीलाई बेहोस बनाएर बलात्कार
जनकपुरधाम । बालिकालाई बलात्कार गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३३ वर्षीय राजकुमार साह छन् ।
घरमा कोही नरहेको मौका छोपी साहले १४ वर्षीया एक बालिका बलात्कार गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर प्रहरी निरीक्षक अमीर दहालले बताए ।
घरमा दिदी र बहिनीमात्र रहेको बेला साह पछाडिबाट घरमा पसेर दिदीको बलात्कार गरेका थिए । पीडित बालिकाले दुवैजनालाई बेहोस बनाएर साहले बलात्कार गरेको प्रहरीसमक्ष बयान दिएको प्रहरी निरीक्षक दहालले बताए ।
प्रहरी निरीक्षक दहालले आइतबार घटना भए पनि सोमबार दिउँसो पीडितको अभिभावकले फोन गरी जानकारी गराएको बताए । घटनाबारे जानकारी पाउनासाथ प्रहरी आरोपित साहको खोजीमा जुटेको उनको भनाइ छ ।
घटनापछि फरार साहलाई सोमबारै राति नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।