खैरो हिरोइनसहित तीन जना पक्राउ

कैलालीको धनगढीमा खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१ स्थित सेती प्रादेशिक अस्पताल नजिकैबाट कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का ४२ वर्षीय डबहादुर तामाङ पक्राउ परेका परेको प्रहरीले जनाएको छ ।
तामाङको साथबाट ३० ग्राम लागुऔषध खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी थप अनुसन्धान गर्दा धनगढी–२ स्थित त्रिनगर भन्सारबाट पुनर्वास–१ कै ३५ वर्षीय कान्छो तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको साथबाट १० ग्राम खैरो हिरोइन बरामद गरिएको छ ।
त्यस्तै, धनगढी–३ टाफिक चौराहाबाट पुनर्वास–१ की २८ वर्षीया अन्जु सार्कीलाई ४९ हजार नगदसहित पक्राउ गरिएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
यस विषयमा थप अनुसन्धान भइरहेको बताउँदै उनले खैरो हिरोइन बिक्री वितरणमा एउटा समूह नै सक्रिय रहेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरिएको बताए ।