‘जोसमा होस् गुमाएपछि’ नवनिर्वाचित गाउँपालिका अध्यक्षको पद चैट !


कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा विचाराधीन रहेको अवस्थामा निर्वाचित भएका उपाध्यायलाई निलम्बनमा परेका हुन् ।



आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोगसहितका निकायलाई पत्र लेखेर भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका बेला जनप्रतिनिधिमा चुनिएको भन्दै स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएपछि उनको पद गएको हो ।

उपाध्यायसहित मोहन्याल–३ का वडाध्यक्ष नन्दराम गिरी, अछामको पञ्चदेवल विनायक नगरपालिका–७ का वडाध्यक्ष सुरतबहादुर रावल र नुवाकोटको बिदुर नगरपालिका–९ का वडाध्यक्ष हरिराम भण्डारी अख्तियारको निलम्बनमा परेका छन् ।




कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्ष उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा विचाराधीन रहेको अख्तियारले जनाएको छ । अघिल्लो कार्यकालमा वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्‍याएको भन्दै उनीविरुद्ध अख्तियारले मुद्दा हालेको थियो ।

‘मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्था अनुसार हाल मोहन्यालका अध्यक्ष पदमा निर्वाचित देवीदत्त उपाध्यायको हकमा निजविरुद्धको मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्वन्धित स्थानीय तहमा लेखी पठाइएको छ’, अख्तियारले भनेको छ ।

यस्तै, मोहन्याल–३ का वडाध्यक्ष नन्दराम गिरी पनि मुद्दाको टुंगो नलागेसम्मका लागि निलम्बनमा परेका छन् । अघिल्लो पटक पनि वडाध्यक्ष रहेका उनीविरुद्ध पनि भ्रष्टाचारको मुद्दा विचाराधीन छ ।

नुवाकोटको बिदुर नगरपालिका–९ का वडाध्यक्ष हरिराम भण्डारीलाई पनि अख्तियारले निलम्बन गर्न भनेको छ । सुलक्षण माविको प्रध्यानाध्यापक रहँदा विद्यालयको सम्पत्ति हिनामिना गरेको आरोपमा उनीविरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–७ का वडाध्यक्ष सुरतबहादुर रावल पनि निलम्बन परेका छन् । कालीदेवी माविको शिक्षक रहँदा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको भन्दै उनीविरुद्ध मुद्दा चलेको थियो । उनीविरुद्धको मुद्दा विचाराधीन छ ।

मोहन्यालको अध्यक्ष उपाध्याय र विदुर नगरपालिकाका वडा नम्बर ९ का वडा अध्यक्ष भण्डारी नेकपा माओवादी केन्द्रबाट निर्वाचित थिए भने मोहन्याल ३ का वडा अध्यक्ष गिरी र पञ्चदेवल ७ का वडा अध्यक्ष रावल नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।



सम्बन्धित
Loading...