फोहोर व्यवस्थापनका नाममा नुवाकोटे जनताको टाउकोमा लौरो बजारियो : सांसद खतिवडा


 



नेकपा (एमाले) का सांसद नारायणप्रसाद खतिवडाले काठमाडौंको फोहोर नुवाकोटको बन्चरेडाँडामा व्यवस्थापन गर्ने भए त्यहाँका जनताका माग पूरा गर्न माग गरेका छन् । बल प्रयोग गरेर त्यहाँ फोहोर व्यवस्थापन गर्ने कार्य बन्द गर्न उनले माग गरेका हुन् ।

 

 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नुवाकोटबाट निर्वाचित एमाले सांसद खतिवडाले फोहोर व्यवस्थापनका नाममा जनतामाथि सुरक्षाकर्मी लगाएर बल प्रयोग नगर्न आग्रह गरेका हुन् । उनले नाम उल्लेख नगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको पनि आलोचना गरेका छन् ।

 




‘जेठ महिनाको २४ र २५ गते नुवाकोट जिल्लाको ककनी र धादिङ जिल्लाको धुनिबेसीबीचको बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्ने निहुँमा नुवाकोटे जनतामाथि प्रहरी दमन भएको छ,’ उनले भने, ‘स्थानीय चुनावमा चुनाव चिह्न रहेको ‘लौरो’ अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ ।’

 

स्थानीय तह निर्वाचनमा लौरो काठमाडौको मेयरमा निर्वाचित बालेन्द्र शाहको चिह्न थियो । स्वतन्त्रबाट उम्मेदवार बनेर निर्वाचित भएका शाहको पहलकदमीमा काठमाडौंको फोहोर बन्चरे डाँडामा लाने प्रयास भइरहेको छ । तर स्थानीयको विरोध यथावत रहेको छ ।

 

सांसद खतिवडाले विगतमा राज्यले स्थानीय जनतासँग गरेको बाचा पूरा गरेर मात्रै फोहोर लैजान भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । ‘फोहोर व्यवस्थापनको नाउँमा नुवाकोटमा १७ वर्षदेखि जुन बेथिति भएको छ । त्यसको व्यवस्थापन गरेर स्थानीय जनताको जायज माग सुनेर फोहोर व्यवस्थापन गर्ने व्यवस्था होस्,’ उनले भने ।

 



सम्बन्धित
Loading...