होमवर्क नगरेको भन्दै जब आमाले छोरीलाई ४५ डिग्रीको तातो छतमा बाँधेर लडाइन्


काठमाडौं ।



स्कुलको गृहकार्य नगरेको भन्दै आक्रोशित भएकी आमाले निर्दोष बालिकालाई यस्तो सजाय दिइन्, जो देखेर जो कसैको मन काँप्छ । आमाको यो निर्दयताको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा आमाले बालिकाको हात खुट्टा बाँधेर चर्को घाममा दिउँसो पक्की घरको छतमा सुताएको देख्न सकिन्छ । भिडियोमा बालिका रोइरहेकी र चिच्याइरहेको स्पष्ट देखिन्छ । उनले आफ्नी आमालाई फेरि यस्तो गल्ती नगर्ने वाचा पनि गरिरहेकी छिन् ।




घटना भारत, दिल्लीको तुकमिर पुर गली नम्बर २ को रहेको बताइएको छ । भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ । प्रहरी बालिकाको घरमा पुगेपछि आमाले बालिकाले गृहकार्य नगरेको बताइन् । त्यसैले उनले ५–७ मिनेट डोरीले हात खुट्टा बाँधेर छतमा सुताइदिएको उनको भनाई थियो ।

आफ्नो बच्चाले हरेक दिन आफ्नो गृहकार्य समयमै गरोस् भनेर आफूले सो कार्य गरेको ती महिलाले बताइन् । केही बेरपछि हात खुट्टा खोलेर तल ल्याइएको थियो । महिलाविरुद्ध दिल्लीको खजुरी खास प्रहरी चौकीमा किशोर न्याय अधिनियम अन्तर्गत मुद्दामा एफआईआर दर्ता भएको छ ।

जब आमाले बच्चालाई सजाय दिन टेरेसमा सुत्न लगाइन्, उनी तातोको डाहाले चिच्याइन् । बालिका रोएको सुनेर छिमेकीले त्यसको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । भिडियोमा छानाको गर्मीका कारण बालिकाले ढाड जलिरहेको अवस्थामा कम्मर उठाएर कहिले दायाँ त कहिले बायाँ घुम्ने गरेको देख्न सकिन्छ ।

भिडियो हेरेर छोरीप्रति आमाले देखाएको व्यवहार देखेर धेरैजना रिसाएका छन् । उनीहरु आमाको यो कार्यमाथि प्रश्न उठाइरहेका छन् । त्यो बेला त्यहाँको तापक्रम ४५ डिग्रीसम्म पुगेको थियो ।

 



सम्बन्धित
Loading...