अमेरिकासँग सैन्य सहकार्य सम्झौता गर्न प्रधानमन्त्री देउवा सकारात्मक, सेना अनिर्णीत


काठमाडौं,



जेठ ३१ । नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पारित भएसँगै अमेरिकाले सैन्य सहकार्यसम्बन्धी सम्झौताका लागि ताकेता गरेको छ । पाँच वर्ष अघिदेखि अमेरिकाले सैन्य सम्झौताका लागि ताकेता गर्दै आएको थियो ।

अहिले पुनः अमेरिकाले सैन्य समझदारीपत्रमा हस्ताक्षर गर्न जोड गरेको छ । यूएस आर्मी प्यासिफिकका कमान्डर जर्नेल चाल्र्स ‘ए’ फ्लिनले नेपालमा भएका उच्चस्तरीय भेटवार्तामा अमेरिकी सेनाको स्टेट पार्टनरसिप कार्यक्रम ९एसपीपी०मा नेपाली सेनाले हस्ताक्षर गर्नुपर्नेमा जोड दिएका छन् ।




प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग भएका भेटमा उनले एसपीपीलाई चाँडै टुंग्याउन आग्रह गरेका छन् । स्रोतका अनुसार देउवाले प्रमुख राजनीतिक दलहरूलाई सहमतिमा ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । देउवा सो सम्झौताको विषयमा सकारात्मक भइसकेका छन् तर नेपाली सेना भने अहिले नै सम्झौताको गर्ने विषयमा भने सहमत भइनसकेको स्रोतले बतायो ।

सो प्रस्तावको विषयमा यसअघि पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले अमेरिकालाई जवाफ पठाए पनि हस्ताक्षर गर्ने विषयमा चासो देखाएको थिएन । किनकि अमेरिकाको सैन्य रणनीति ‘इन्डो प्यासिफिक स्ट्राटेजी’को हिस्साका रूपमा रहेको स्टेट पार्टनरसिप प्रोग्राममा नेपाल सहभागी हुँदा नेपालको असंलग्न विदेश नीतिको उल्लंघन हुने बुझाइ ओली सरकारको थियो ।

तर, एकाएक देउवा सरकार नेतृत्वमा आएपछि अमेरिकासँग एमसीसी सम्झौतादेखि असंलग्न परराष्ट्र नीतिसमेत तोडिने काम भएकोमा परराष्ट्र विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । सन २०१८ डिसेम्बरमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अमेरिका भ्रमणपछि अमेरिकी विदेश मन्त्रालयले निकालेको वक्तव्यमा ‘इन्डो प्यासिफिक स्ट्राटेजीमा नेपालको केन्द्रीय भूमिकाबारे छलफल भएको उल्लेख गरेपछि तरंग ल्याएको थियो ।

छिमेकी चीनसँगको पारस्परिक सम्बन्धसँगै भूराजनीतिक रूपमा पनि अप्ठ्यारो पर्न सक्ने अवस्था थियो । साथै चीनले पनि अमेरिकी गतिविधि नजिकबाट हेरिरहेको र चेतावनीसमेत दिँदै आएको थियो । यसअघि सन् २०१५ मा पहिलोपटक अमेरिकी सेनाले स्टेट पार्टनरसिप कार्यक्रममा नेपाली सेनाको सहभागितासम्बन्धी रणनीतिक महत्वको समझदारीपत्र प्रस्ताव गरेको थियो ।

यसअघि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले सो कार्यकार्यबारे नेपाली सेना सकारात्मक भएको सन्देश पठाएका थिए । त्यतिबेला अमेरिकाले नेपाली सेनासँगै प्रस्ताव राखेकामा अहिले पनि राजीतिक रूपमै आफ्नो प्रस्ताव राखेको छ । अमेरिकी सेनाको प्रस्तावअनुसार नेपाली सेना र अमेरिकी सेनाको ‘युनाइटेड स्टेट्स नेसनल गार्ड’बीच दैवीप्रकोप रोकथाम र नियन्त्रणमा केन्द्रित भई सहकार्य हुनेछ । राजधानी दैनिकबाट

 



सम्बन्धित
Loading...