महिलामाथी हातपात गर्ने राज्यमन्त्री वलीमाथी जाँचबुझ गर्न कार्यदल गठन, मन्त्री भने अस्पताल भर्ना
लुम्बिनी प्रदेशसभा सदस्य एवं राज्यमन्त्री विमलाकुमारी वलीमाथि छानबिन गर्न आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको छ ।
जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् ।
राज्यमन्त्री वलीले हिजो मंगलबार लुम्बिनी प्रदेशकै एक महिला र बालिकामाथि कुटपिट गरेको आरोप छ । उनले ती महिलाको घरमा गएर तोडफोडसमेत गरेको आरोप छ ।
उनीविरुद्ध किटानी जाहेरी परे पनि प्रहरीले दर्ता भने गरेको छैन । यही घटना सत्य तथ्य बुझ्नका कार्यदल बनाएको हो ।
लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला अस्पताल भर्ना

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्रीलाई अस्पताल भर्ना गरिएको छ । अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । दाङको तुल्सीपुरमा स्थानीय एकराज बस्नेतको घरमा पुगेर लफडा गरेपछि विवादमा तानिएकी मन्त्री खत्रीलाई बुटवल ल्याएर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवालयका अनुसार मानसिक तनावका कारण स्वास्थ्यमा समस्या देखिएपछि खत्रीलाई अस्पताल भर्ना गरिएको हो ।
उनले आफूले सामान्य रुपमा हिसाब किताब मिलाउनको लागि बस्नेतको घरमा गएको तर आफ्नो राजनीतिक र सामाजिक जीवन समाप्त पार्नका लागि षडयन्त्र भएको दाबी गर्दै आएकी छन् । विमलाले बस्नेतको श्रीमती र छोरीमाथि हातपात गरेको आरोप छ ।