थापाथली इञ्जिनियरिङ कलेजका विद्यार्थी त्रिपुरेश्वरमा मृत भेटिए


 




थापाथली इञ्जिनियरिङ कलेजका एकजना विद्यार्थी मृत अवस्थामा भेटिएका छन् ।

 

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि चौधरी ग्रुपको निर्माणाधीन भवनको खाली कम्पाउन्डबमे तल उनको शव भेटिएको हो ।

 


जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार गत आइतबार रातिदेखि हराएका ललितपुर सानेपा घर भएका २२ वर्षीय अभिशेष जैसवालको शव सोमबार भेटिएको हो ।

 

उनको शव भेटिएलगत्तै उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय, काठमाडौं प्रहरी परिसर, टेकु, प्रहरी वृत्त कालिमाटी लगायतको टोली घटनास्थलमा पुगेको थियो । अपराध अनुसन्धानमा प्रयोग हुने कुकुरलाई पनि घटनास्थलमा लगिएको थियो ।

 

प्रारम्भिक जाँचबुझमा उनी आफैं छतमा चढेर फाल हानेको जस्तो देखिने एसपी मैनालीले बताए । ‘कुकुरले पनि उनी हिँडेर माथि गएको हुनसक्ने संकेत गरेको छ,’ मैनालीले भने । प्रहरीले घटनास्थलमा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक विज्ञ डा. गोपाल चौधरीलाई पनि लगेको थियो ।

 

उनको शवलाई पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ । हालसम्म पोष्टमार्टमको प्रतिवेदन नआएपछि लडेका कारण भएको चोटबाहेक अन्य संकेत नदेखिएको चिकित्सकहरुले बताएका छन् ।

 

स्रोतका अनुसार जैसवाल आमासँग झगडा भएपछि साथीसँग जान्छु भन्दै घरबाट निस्किएका थिए । सिभिल इञ्जिनियरिङको पढाइ सुरु गरेका उनले पछि आर्किटेक्चर पढ्न थालेका थिए । उनी पढाइमा अब्बल मानिन्थे ।

 



सम्बन्धित
Loading...