पहिरोले बगाएर ताप्लेजुङको खेवाङमा २ जनाको मृ त्यु, ३० परिवार विस्थापित
ताप्लेजुङको
सिरिजङगा गाउँपालिका–७ खेवाङमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ । पहिरोले बगाएर तुलसा अधिकारी र यसोदा अधिकारीको शव घर रहेको स्थानभन्दा केही तल भेटिएको वडाध्यक्ष बुद्ध दाहालले जानकारी दिए ।
‘घटनास्थलमा पहिरो बग्ने क्रम रोकिएको छैन । त्यसैले दुवैको शव निकालेका छौं,’ उनले टेलिफोनमा भने, ‘मृतक सासु बुहारी हुन् ।’ घरमा ३ जना बस्ने गरेकामा तुलसाका छोरा बिष्णु अधिकारी भने भागेर बाँच सफल भएको दाहालले बताए ।
उनी भाग्ने क्रममा घाइते भएको र उनको अवस्था गम्भीर रहेको स्थानीय ज्ञानेन्द्र पुर्कुटीले बताए । उनको उद्धारका लागि हेलिकप्टर मगाइएको वडाध्यक्ष दाहालले बताए । दाहालका अनुसार खेवाङका सबै वडामा पहिरो गएको छ ।
‘हालसम्म ३० घर विस्थापित भइसकेका छन्,’ उनले भने, ‘सबै क्षेत्रमा सम्पर्क हुन सकेको छैन । क्षतिको विवरण आउन समय लाग्छ ।’ ताप्लेजुङका बिभिन्न स्थानमा क्षति गरेको छ । सिरिजंघा–६ मामाङखे र फक्ताङलुङ गाउँपालिकाका विभिन्न स्थानमा पहिरो गएको स्थानीयले बताएका छन् । drishtinews.com बाट साभार