महिलालाई दुर्व्यवहार गरेपछि चिर्पटले हिर्काएर हत्या

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ स्थित बोडेमा ५२ वर्षीय कल्याण साहु मृत भेटिएको प्रहरीले हत्या भएको निष्कर्ष निकालेको छ । जेठ २९ मा उनी मृत भेटिएका थिए । बोडे तीन दोबाटोस्थित लर्डबुद्ध स्कुल अगाडि दिल कुमार श्रेष्ठको जग्गामा निर्माणाधिन टहरामा मृत भेटिएका साहु त्यहीँका स्थानीय हुन् ।
जेठ २८ मा राति १० बजेतिर उनी घरबाट निस्केका हुन् । राति पौने ११ बजेतिर बोडे एरियामा पाटीमा बस्ने २९ वर्षीया जमुना तामाङलाई उनले दुव्र्यवहार गरेको प्रहरीको अनुसन्धाबाट खुलेको छ । त्यसबेला पाटीमा जमुना मात्रै थिइन । खोटाङको जन्तेढुंगा गाउँपालिका–६ घर भएका जमुनाको श्रीमान २७ वर्षीय रमेश विश्वकर्मा शौचालय गएका थिए । कल्याण साहुले दुव्र्यवहार गरेपछि जमुना चिच्याइन् ।
शौचालयबाट रमेश फर्केपछि उनीहरुको बिचमा केहीबेर झगडा भयो । दाङको घोराही घर भएर चाँगुनारायण नगरपालिका–२ दुवाकोट एरियामा पाटीमा बस्ने ४४ वर्षका गोविन्द खड्का पनि त्यसदिन त्यहीँ थिए । जमुना, रमेश र गोबिन्द खड्का मिलेर चिर्पटले हिर्काएर कल्याणको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले बताए ।
‘दुर्व्यवहार पछि जमुना चिच्याएको र उनको श्रीमानले चिर्पटले हिर्काएको अनुसन्धानबाट थाहा भएको छ,’ डिएसपी पाण्डेले भने, ‘हत्या आरोपमा हामिले तिनै जनालाई पक्राउ गरेर अनुन्धान गरिरहेका छौं ।’
रगतम्य अवस्थामा साहुको शव भेटिएको थियो । शव भेटिएको सुचना पाएपछि प्रहरी वृत्त थिमीका डिएसपी हरिनन्दन चौधरी नेतृत्वको अनुसन्धान टोलीले तालिम प्राप्त कुकुर पनि परिचालन गरेर अनुसन्धान गरेको थियो ।