ठगीकाे नमुनाः दूबईमा योजना, दिल्लीमा कार्यालय, काठमाडौंबाट अमेरिकामा लाखौं ठगी




कल सेन्टरको आवरणमा संगठितरुपमा अन्तरदेशीय ठगी धन्दा चलाउने गिरोहले नेपालमा पनि नेटवर्क खडा गरेको फेला परेको छ । भारतका लागि टाउको दुखाइ बनेको कल सेन्टरको आवरण हुने ठगीको नेटवर्क नेपालमा पनि विस्तार भएको भेटिएको हो ।

तर हालसम्म यस्तो गिरोहको फन्दामा नेपाली नागरिक चाहिँ परेका छैनन् । साइबर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालका अनुसार नेपालमा कल सेन्टरको आवरणमा ठगी गर्ने गिरोहका १३ जना पक्राउ परेका छन् । हालसम्म उनीहरुको निशानामा अमेरिकी नागरिक मात्रै देखिएका छन् ।

 




ब्यूरोले आइतबार पत्रकार सम्मेलन गरेर गिरोहका नेपाली नाइके बुढानिलकण्ठ नगरपालिका–१२, कपनका विजय श्रेष्ठ, भारतीय नागरिक ३२ वर्षीय निसान खैरे र २४ वर्षीय मनीष तिवारीसहित १३ जनालाई पक्राउ गरिएको बताएको छ । पक्राउ परेकामध्ये यी तीन जनाबाहेक अन्य सबै कल सेन्टरमा काम गर्न राखिएका कर्मचारी हुन् ।

अर्बिट नेक्सस प्रा.लि. नामक कम्पनीको कल सेन्टरमा जागिर खुलेको थाहा पाएपछि दर्खास्त दिएर पक्राउ परेका अन्य युवायुवतीहरु काममा भर्ना भएका थिए ।

 

यो गिरोहले अमेरिकालाई टार्गेट बनाएकाले दर्खास्त माग्दै राम्रोसँग अंग्रेजी भाषामा बोल्न सक्ने हुनुपर्ने मापदण्ड राखिएको थियो । त्यही प्रक्रियाबाट छानिएका उनीहरुले गलत काम गरिरहेको थाहा पाएपनि प्रहरीलाई सुचित नगरेकाले पक्राउ गरिएको एसएसपी अर्यालले बताए ।

प्रहरीका अनुसार पक्राउ परेका सबैजनामाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

दुबईमा योजना, काठमाडौंबाट ठगी

ब्यूरोका एसएसपी अर्यालका अनुसार पक्राउ परेका विजय श्रेष्ठको नाममा कामाडौंमा अर्बिट नेक्सस प्रा.लि. नामक कम्पनी दर्ता छ । त्यही कम्पनीको नाममा दुई महिनादेखि धम्बाराहीमा कल सेन्टर सञ्चालन भइरहेको थियो ।

न्यूयोर्क टाइम्सको एक रिपोर्ट अनुसार अमेरिकाका विभिन्न राज्यका वृद्धवृद्धाहरुलाई कम्युटर उत्पादक कम्पनीको नाममा अपरिचत व्यक्तिबाट फोन आउने गरेको छ ।

त्यसक्रममा उनीहरुलाई एन्टी ह्याकिङ सुरक्षाका लागि कम्पनीले लिएको पैसा फिर्ता गर्ने भन्दै बैंकको विवरण माग्ने गरिएको छ । त्यसरी लिइएको विवरणम लिने क्रममा उनीहरुको कम्प्युटरसम्म एक्सेस लिएर रकम चोरी गर्ने गरिएको छ ।

नेपालमा पनि उनीहरुले यो धन्दा विस्तार गर्न सक्ने आशंकामा इन्टलिजेन्स जुटाइरहेका थियौं, नभन्दै केही अघि अर्बिट नेक्सस प्रा.लि.बारे सूचना आयो । साइबर ब्यूरोको यो अपरेशनले ठूलो ठगी धन्दाको एउटा जालोको नेपाल कनेक्सन तोडिएको छ – नविन्द अर्याल, एसएसपी
भारतीय लबजमा बोल्ने गिरोहले उनीहरुको बैंक खाताको विवरण पाएपछि त्यो खाता नम्बर बाल यौनजन्य क्रियाकलाप, लागूऔषध, बेटिङ जस्ता अवैध कामको ट्रान्जेक्सनका लागि प्रयोग भएको भन्ने गरिएको छ ।

‘अमेरिकामा चाइल्ड पोनोग्राफी जस्ता कुरालाई एकदमै गम्भिररुपमा लिइन्छ, त्यसैले अपारधमा संलग्न रहेको भनेर धम्क्याउने गरेको देखिएको छ’ ब्यूरोका एसएसपी अर्यालले भने, ‘त्यसबारे समाचार आएपछि नोटिसमा लिइरहेका थियौं ।’

दिल्ली प्रहरीले सन् २०२० मा चलाएको एक अपरेशनमा कल सेन्टरका नाममा अमेरिकी नागरिकलाई ठगी गरिरहेका ५० जना पक्राउ परेका थिए र यो गिरोहले दुई वर्षमा एक करोड ५० लाख अमेरिकी डलर बराबरको ठगी गरेको खुलासा भएको थियो ।

भारतमा प्रहरीले कल सेन्टरविरुद्ध आक्रामक कारबाही थालेको बारे समाचार आउन थालेपछि यसको नेपालमा पनि नेटवर्क विस्तार भएको हुनसक्ने आशंकामा अनुसन्धान सुरु भएको एसएसपी अर्याल बताउँछन् ।

‘नेपालमा पनि उनीहरुले यो धन्दा विस्तार गर्न सक्ने आशंकामा इन्टलिजेन्स जुटाइरहेका थियौं, नभन्दै केही अघि अर्बिट नेक्सस प्रा.लि.बारे सूचना आयो’ अर्यालले भने, ‘साइबर ब्यूरोको यो अपरेशनले ठूलो ठगी धन्दाको एउटा जालोको नेपाल कनेक्सन तोडिएको छ ।’

अनुसन्धानका क्रममा यो कम्पनीको नाममा पनि उही न्यूयोर्क टाइम्समा प्रकाशित समाचारकै शैलीमा ठगी भइरहेको खुलेको अर्यालले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सार्वजनिक भएकै अपराध शैली प्रयोग गरेर यो गिरोहले पनि भारतबाटै सम्पूर्ण समूह परिचालन गर्ने गरेको देखिएको छ ।

ब्यूरोका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार पक्राउ परेकामध्ये निशान्त खैरे र मनिष तिवारी नेपालमा भइरहेको कामको सुपरिवेक्षणका लागि दिल्लीबाट काठमाडौं पठाइएका व्यक्ति हुन् ।

अनुसन्धान अधिकृतहरुका अनुसार प्रविधिमा दख्खल राख्ने श्रेष्ठ चार महिनाअघि दुबई गएका थिए । ‘दुबई गएका बेला उनको भारतमा बसेर कल सेन्टर चलाउने गिरोहका श्याम नामक मुख्य व्यक्तिसँग भेट भएको थियो’ ती अधिकृतले भने, ‘उनैले विजयलाई नेपालमा कम्पनी खडा गर्न प्रलोभन दिएका थिए ।’

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार उनीहरुको साथबाट बरामद कम्युटरको विवरणमा ९० बढी अमेरिकी नागरिकको विवरण फेला परेको छ । ‘तीमध्ये कतिपयको बैंक विवरण पनि छ’ एक अधिकृत भन्छन्, ‘तीमध्ये कतिबाट पैसा निकालियो भन्ने चाहिँ खुलिसकेको छैन ।’
अनुसन्धान अधिकृतहरुले भारतमा प्रहरीले कडाइ गरेपछि ती व्यक्तिले नेपालमार्फत कल सेन्टर सञ्चालन गर्न खोजेको हुनसक्ने आशंका गरेका छन् । अझ नेपालमा त्यससम्बन्धी कानून पनि कमजोर भएको र प्रहरीले पनि शंका नगर्ने भएकाले उनीहरुको रोजाइमा परेको हुनसक्ने अधिकृतहरुको बुझाइ छ ।

प्रहरीका अनुसार सोही योजना अनुसार विजयले दुई महिना अघि काठमाडौंमा कम्पनी दर्ता गरेका थिए । ‘उनलाई लगानी गर्नु नपर्ने कम्पनी मात्र खोले पुग्ने भनिएको थियो’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘कम्पनी खोलेर कर्मचारी राखेपछि एक महिनासम्म उनीहरुलाई तालिम मात्र दिइएको थियो ।’

एसएसपी अर्यालका अनुसार कम्पनी सुरु गरिसकेपछि अमेरिकाको कल डाइभर्ट गरेर भारतबाट सिधै काठमाडौंमा आउने गरी व्यवस्था गरिएको थियो । अमेरिकालाई टार्गेट गरिएकाले कल सेन्टर खुल्ने समय नै बेलुकी ७ः३० देखि बिहान ४ बजेसम्मलाई तोकिएको थियो ।

यसरी हुन्थ्यो ठगी

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार भारतमा भएको मुख्य समूहले अमेरिकामा विशेषतः पेन्सन लिइरहेका वृद्धवृद्धाहरुलाई पहिचान गरेर उनीहरुको कम्प्युटरमा सन्देश पठाउने गरेको थियो ।

‘आईपी सिक्स’को एड्रेस पत्ता लगाएर उनीहरुको कम्प्युटर स्क्रिनमा पठाइने ‘पपअप’ सन्देशमा लेखिएको हुन्थ्यो, ‘पोर्नोग्राफी अल्ट – एक्सेस टु दिस पिसी ह्याज विन ब्लक्ड फर सेक्युरिटी रिजन ।’ यही सन्देशको साथमा कन्ट्याक विल्डोज सपोर्ट भन्दै १–८८८–२००–५५३२ नम्बर राखिएको हुन्थ्यो ।

 

प्रहरी निरीक्षक सुवेदीका अनुसार यस्तो सन्देश देख्ने वित्तिकै वृद्धवृद्ध तनावमा पर्थे । किनकि, अमेरिकामा पोर्नोग्राफीसम्बन्धी कानून कडा छ । ‘माइक्रोसप्ट सपोर्टको नाममा लोगोसहितको पपअप सन्देश आएपछि उनीहरुले आत्तिएर सम्पर्क गर्ने भए’ उनले अनलाइनखबरसँग भने, ‘तर त्यो फोन भारत हुँदै धुमबाराहीमा रहेको कल सेन्टरमा रिसिभ हुन्थ्यो ।’

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार यस्ता खाले कल ‘गोएजेन्ट’ नामक एम्पिकेशनमार्फत तयार गर्ने गरिएको भेटिएको छ । फोन आएपछि उन्ीहरुलाई २४७केयर.युएस नामक एउटा ग्राहक सम्पर्कका लागि बनाइएको वेवसाइटमा लगइन गर्न भनिन्थ्यो ।

‘त्यो वेवसाइट पनि उनीहरु आफैंले तयार गरेका थिए, त्यसमा लगइन गर्नलाई भारतीय समूहले कोड दिन्थे’ एसएसपी अर्यालले भने, ‘लगइन हुने वित्तिकै दुवैतिर इभेन्ट भ्यूअर सिर्जना हुन्थ्यो, अर्थात् पीडितको स्क्रीनमा कल सेन्टरबाट एक्सेस गर्न पाइन्थ्यो ।’

 

त्यसपछि कलेसेन्टरमा काम गर्नेले पूर्वनिर्धारित प्रश्नहरु सोधेर पीडितलाई प्रभावमा पानेृ गरेको भेटिएको छ ।

‘ती प्रश्नहरु पीडितलाई म्यानिपुलेट गर्ने किसिमले तयार गरिएका थिए, त्यो पढ्दा गलत काम गरिरहेको छु भन्ने कल सेन्टरमा काम गर्नेलाई पनि आफैं थाहा हुन्थ्यो’ सुवेदी भन्छन्, ‘स्क्रीप्टमा उल्लेख भएअनुसार नै कल सेन्टरका व्यक्तिले आईपी एड्रेस ह्याक भएको भन्दै सन्देश पनि पठाउने गरेका थिए ।’ त्यसपछि थप काम गर्नका लागि पीडितलाई बैंक खाताको विवरण पठाउन भन्ने गरिएको पाइएको छ ।

‘पीडितको कम्युटरमा सबै कन्ट्रोल पाइसकेपछि बैंक विवरण र अन्य सूचना पाउन त्यति गाह्रो पनि हुँदैन’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘विवरण हात पारेपछि सबै कुरा कल सेन्टरका सदस्यले भारतीय नागरिक निशान्तलाई टेलिग्राम नामक सामाजिक सञ्जालमार्फत पठाउने गरेको भेटिएको छ ।’

कामदारलाई न्यून तलब, श्रेष्ठको तलब एक लाख २५ हजार

कम्पनी रजिष्टार कार्यालयको विवरण अनुसार अर्टिट नेक्सस प्रा.लि. श्रेष्ठको नाममा मात्रै दर्ता छ । उनले कम्पनी दर्ता गरेवापत महिनामा एक लाख २५ हजार रुपैयाँ तलब बुझ्ने गरेका थिए ।

नेपाल आएर सुपरभाइजरकारुपमा काम गरिरहेका दुई व्यक्ति पनि काठमाडौंमा अपार्टमेन्ट लिएर बसिरहेका थिए ।

तर काम गर्नेलाई चाहिँ न्यूनतम तलबमा काम लगाउने गरेको पाइएको छ । उनीहरुलाई १० हजारदेखि २५ हजार रुपैयाँसम्म दिने गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

‘बेरोजगारीका कारण जसले पनि सजिलै काम गर्छन् भन्ने थाहा पाएकाले उनीहरुले थोरै पैसामा काम लगाएका थिए’ अधिकृतहरु भन्छन् ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार उनीहरुको साथबाट बरामद कम्युटरको विवरणमा ९० बढी अमेरिकी नागरिकको विवरण फेला परेको छ । ‘तीमध्ये कतिपयको बैंक विवरण पनि छ’ एक अधिकृत भन्छन्, ‘तीमध्ये कतिबाट पैसा निकालियो भन्ने चाहिँ खुलिसकेको छैन ।’

बैंक विवरण हात पारिसकेपछिको सबै काम भारतमा भएको गिरोहले गर्ने भएकाले पनि त्यसको विवरण निकाल्न गाह्रो भएको अधिकृतहरु बताउँछन् ।

‘अझ कतिपय विवरण त उनीहरुले पठाउने वित्तिकै डिलिट गर्छन्, सोचेभन्दा धेरै व्यक्तिसम्म उनीहरुले पहुँच पुर्‍याएको हुनसक्छ’ एसएसपी अर्याल भन्छन्, ‘भारतीय पाटोबाट पनि धेरै कुरा खुल्ने भएकाले यसको अनुसन्धानका लागि इन्टरपोल र भारतीय पक्षसँग पनि समन्वय गर्छौं ।’ ( अनलाइन खबरबाट)



सम्बन्धित
Loading...