खाना पकाउने ग्यासमा दुई थरी मूल्य तोक्ने, नेपालमा इन्धनको मूल्य दक्षिण एसियाकै उच्च

सरकारले खाना पकाउने ग्यासमा दुई थरी मूल्य निर्धारण गर्ने तयारी गरेको छ । यस्तो व्यवस्था चाँडै गर्ने तयारी सरकारको तयारी छ ।
नेपाल आयल निगमले औद्योगिक प्रयोजनका लागि परल मूल्यमा र घरायसी प्रयोजनका लागि केही सहुलियतमा ग्यास बिक्री गर्ने तयारी गरिरहेको जनाएको छ ।
नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले यसका लागि ग्यासको गन्ध र सिलिन्डरकव रंग फेर्ने तयारि भएको बताए ।
‘गन्ध, रङ्ग र साइजका आधारमा चाँडै ग्यासको दोहोरो मूल्यमा जान्छौं’ उनले भने । अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढे पनि तत्काल नेपालमा भने मूल्य बढाउने तयारी नरहेको उनले बताए ।
नेपालमा इन्धनको मूल्य दक्षिण एसियाकै उच्च
नेपालमा इन्धनको मूल्य दक्षिण एसियाकै उच्च विन्दुमा पुगेको छ । इन्धनको मूल्यमा हुँदै आएको भारी वृद्धिका कारण सार्वजनिक सवारीसाधनदेखि चुल्हो चौकोमा समेत त्यसको प्रत्यक्ष असर परेको छ ।
आइतबारबाट आयल निगमले डिजेल र पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसको प्रत्यक्ष मारबाट नागरिक हैरान भएका छन् । हप्तैपिच्छे बढ्दै गएको इन्धन मूल्यको प्रभाव मध्यम वर्गीय परिवारको हातमुख जोर्ने समस्यामा जोडिँदा अवस्था संकटग्रस्त बनेको हो ।
आयातीत बजारले धानिएको नेपाली जनजीवन ढुवानीमा दवाव पर्नासाथ महंगीको प्रभाव चुल्होदेखि विकाससम्म पर्नेछ । त्यसैले गरिब जनताबारे सरकारले नसोची अपनाएको रवैया भन्दै उनीहरूले दुःखेसो व्यक्त गरेका छन् ।
कतिपय सवारी चालकले इन्धनको समस्यालाई चाँडो भन्दा चाँडो हटाउन माग गरेका छन् । कतिपयले विद्युतीय सवारी अहिलेको आवश्यकता रहेको बताए । उनीहरू व्यवस्थित रूपले विद्युतीय सवारी साधन प्रयोगमा ल्याउन सके इन्धन खपत कम हुने धारणा राख्छन् ।
अफगानिस्तान, पाकिस्तान र श्रीलंकाजस्ता दक्षिण एशियाली मुलुक आर्थिक दुरावस्था भोगेको समाचार सुनेका नेपाली जनता यहाँ भएको मूल्यवृद्धिबाट त्रसित बनेका छन् । वैकल्पिक ऊर्जा उपयोग गरी उनीहरूको खाना, नाना र छानाको अधिकार सुरक्षित गर्न सरकारी पहल आवश्यक छ ।