मारिदिने धम्कीले चार महिनाअघि ‘लुकाएको’ बलात्कार घटना यसरी भयो सार्वजनिक


stop violence children and abuse in family concept


घटनाबारे कसैलाई सुनाए मारिदिने धम्की दिने पीडकको डरले मौन बसेकी १४ वर्षीया बालिका गर्भवती भएपछि मात्रै बलात्कारको घटना बाहिरिएको छ।

 

मोरङ मिक्लाजुङकी ती बालिकाको गर्भमा चार महिनाको बच्चा रहेको भन्दै परिवारका सदस्यले प्रहरी गुहारेपछि चार महिना अघिको घटना बल्ल बाहिर आएको हो।

 




‘नानीको स्वास्थ्यमा समस्या देखिएपछि अभिभावकले स्वास्थ्य परीक्षण गराउनुभएछ’, मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले सेतोपाटीसँग भने, ‘त्यसक्रममा नानी गर्भवती भएको पुष्टि भएको उहाँहरूले सुनाउनुभयो। लगत्तै हामीले घटनाका अभियुक्त खोज्ने र अनुसन्धान सुरू गरेका छौं।’

 

प्रहरीका अनुसार गएको माघ १६ गते दिउँसो १ बजेतिर ती बालिका घरमा पालेको सुँगुरलाई चारो खोज्न घर नजिकैको जंगलमा पुगेकी थिइन्। चारो खोज्ने क्रममा पिसाब गर्न लागेका बेला उनलाई मिक्लाजुङ ४ का ४४ वर्षीय छविराज चाम्लिङले बलात्कार गरेका थिए। घटनाबारे कसैलाई सुनाए मारिदिने धम्की पीडकले दिएका कारण पीडित बालिकाले कसैलाई पनि भनेकी थिइनन्।

 

प्रहरीका अनुसार घटनापछि नियमित स्कुल गइरहेकी बालिकाको स्वास्थ्यमा जेठ अन्तिम साता एक्कासि समस्या आयो।

 

‘नानीले पेट दुख्यो भनेर अभिभावकलाई भनेपछि उपचारका लागि लगिएछ’, डिएसपी श्रेष्ठले भने, ‘पिरियड पनि रोकिएको भएपछि अभिभावकले जाँच गराउँदा प्रेग्नेन्सी पोजिटिभ आएको रहेछ।’

 

परिवारले जाँच गरेको भनेर भनेपछि प्रहरीले पीडितको पुनः स्वास्थ्य परीक्षणका लागि एबिसी नेपाललाई जिम्मा लगाएको छ। उनको स्वास्थ्य परीक्षण भइरहेको र फरार अभियुक्तको खोजी पनि जारी रहेको प्रहरीको भनाइ छ।

 

ती बालिकाका परिवारका सदस्यका अनुसार घटनाबारे कसैलाई सुनाए मारिदिने धम्की दिने पीडकको डरले बालिका लामो समय मौन रहेकी हुन्।

 

‘कसैलाई सुनाए आफू र परिवारका अरूलाई पनि मारिदिने धम्की पीडकले दिएको रहेछ’, बालिकाका परिवारका एक सदस्यले घटनाबारे भने, ‘त्यही भएर नानीले त्यसबारे कसैलाई केही भनिनछे। अहिले यस्तो भएपछि मात्रै थाहा भयो।’

 

पीडक चाम्लिङ फरार रहेका कारण पक्राउ गर्न प्रहरीलाई गुहारेको उनले जानकारी दिए।



सम्बन्धित
Loading...