कृषिलाई प्राथमिकता दिदैं प्रतापपुर गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक




हरि शर्मा –
परासी, ८ असार – पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता राख्दै आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउँपालिकाको १२ औं गाउँसभामामा “किसानको उन्नती, प्रतापपुरवासीको प्रगति”भन्ने मुल नाराकासाथ कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अध्यक्ष उमेशचन्द्र यादवले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।




कृषि प्रणालीलाई व्यवसायीककरण गर्न कृषि प्रयोगशाला निर्माण गरिने उल्लेख छ । गाउँपालिकालाई केरा पकेट क्षेत्रको रुपमा विस्तारगर्दै केरा र उखुको बिउबिजनको व्यवस्था गरी अनुदान उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कृषिमा युवा विशेष कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै कृषक परिचय पत्र उपलब्ध गराइने अध्यक्ष यादवले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

स्वास्थ्यतर्फ १५ शैयाको अस्पताल निर्माणलाई निरन्तरता दिदैं आयुर्वेद गाउँघर क्लिनिकलाई निरन्तरता दिइने उल्लेख छ । विपन्नको लागि एम्बुलेन्स खर्च व्यहोर्न सम्बन्धित संस्थामा सहयोग कोषको स्थापना गरिने छ । ६० वर्ष पूरा भएका महिला स्वास्थ्य स्वंय सेविकाहरुका लागि स्वयंसेविका कल्याण कोष स्थापना गरिने उल्लेख छ ।

शिक्षातर्फ गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरुलाई एकरुपता ल्याउन एउटै रंगरोगनको व्यवस्था गरिने छ । माध्यामिक विद्यालयहरुमा प्राविधिक धारको शिक्षा सञ्चानलन गरिने छ भने १२ कक्षा उत्तिर्ण गरी स्नातक प्रथम वर्षमा अध्ययनरत छात्राहरुलाई निःशुल्क साइकल वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

उद्योगतर्फ पाँच लाखभन्दा बढी लगानीको उद्योग स्थापना गर्ने उद्योगहरुको लागि ५ वर्ष बराबरकोे कर छुट दिइने छ भने सानो पूँजीका उद्योग र लघुउद्यमलाई अनुधानको व्यवस्था गरी लघु उद्यम कार्यक्रममार्फत १ सय ५० लघु उद्यमी तयार गरिने उल्लेख गरिएको छ । युवाहरुलाई स्वरोजगार बनाउन युवा उद्यमशिल कोष स्थापना गरिने र उपयुक्त स्थानमा उद्योगग्राम स्थापनाका लागि पहलगर्दै कोशेली घर निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पूर्वाधार विकासतर्फ आगामी पाँच वर्षभित्र कच्चीरहित सडक निर्माणका लागि गाउँभित्रको बाटोलाई पिपिसी र आरसीसी तथा बाहिरी बाटोलाई कालोपत्रे बनाई प्रतापपुरलाई चक्रपथ निर्माण गरिने उल्लेख छ । अव्यवस्थित बसोबासीहरुको लगत तथा तथ्यांक संकलन गरी समस्या समाधान गर्ने नीति लिइएको छ ।

सहकारी शिक्षालाई प्राथमिकता दिदैं सहकारी मर्जलाई जोड दिएको छ भने गाउँपालिकालाई पाँच वर्षभित्र झुपडीमुक्त बनाउन आवास निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । खेलकुदतर्फ रंगशाला निर्माण एंव खेलकुद मैदानहरुको स्तरोन्नती गरिने जनाइएको छ ।

फोहोर मैला व्यवस्थापनका लागि ल्याण्ड फिल्ड साइडको खोजी गरी कामलाई तिव्रता दिदैं गाउँपालिकाको प्रशासनीक भवन निर्माणलाई तिब्रता दिइने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कार्यक्रममा उपाध्यक्ष मानकुमारी चौधरीले गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सबैको सहयोग अपरिहार्य रहेकोमा जोड दिनुभयो ।

गाउँसभाको उद्घाटनगर्दै प्रतिनिधिसभा सांसद हृदयेश त्रिपाठीले स्थानीय सरकार संघीयताको उपलब्धी भएकोले जनताका आवश्यकतालाई जोड दिएर काम गर्नुपर्ने बताउनुभयो । वडास्तरमा योजना तानातान गरेर लैजानुभन्दा ठोस योजनामा जोड दिनुपर्ने उहाँको भनाई छ ।

केही वर्षदेखि स्थानीय तहमा बेरुजुको अवस्था बढ्दै गएकोले बताउँदै पहिला पहिला आन्तरिक प्रशासनलाई सुधार गर्नुपर्नेमा जोड त्रिपाठीले जोड दिनुभयो । नीति तथा कार्यक्रमलाई समेट्दै भोली बुधबार प्रतापपुर गाउँपालिकाले आगामी वर्षका लागि बजेट प्रस्तुत गर्ने जनाएको छ ।

७ पालिका रहेको जिल्लामा प्रतापपुर गाउँपालिकाले पहिलो पटक स्थानीय रेडियोहरु र पालिकाको फेसबुक पेजबाट गाउँसभाको प्रत्यक्ष प्रसारण गरेको थियो ।



सम्बन्धित
Loading...