कारागारका कैदीको अकस्मात निधन

मकवानपुरको भीमफेदी कारागारमा कैद सजाय भोगिरहेका एक जनाको मृत्यु भएको छ ।
लागुऔषध कारोबारमा पक्राउ परेका हेटौंडाका ३४ वर्षका युवकको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
२०७६ साल जेठ २ गतेदेखि लागूऔषध मुद्दामा मकवानपुरको भीमफेदी कारगारमा कैदी जीवन बिताइरहेका हेटौंडा—२ का मिलन परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भीमफेदी कारागारका सुरक्षागार्ड मओसेतु गुरुङका अनुसार ७ वर्षका लागि कैदी तोकिएको परियारलाई मंगलबार अचानक छाती पोल्ने र दुख्ने समस्य देखिएको थियो ।
स्वास्थ्यमा समस्या देखिए लगत्तै उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा लगिएको थियो । स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि परियारलाई थप उपचारका लागि हेटौंडा अस्पताल रिफर गरेको थियो ।
उपचारका लागि हेटौंडा अस्पताल ल्याउने क्रममा नै परियारको मृत्यु भएको प्रहरीको भनाई छ । परियारले ७ वर्ष तोकिएको कैद सजायमध्ये ३ वर्ष बिताइसकेका थिए ।
परियारको शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ भने हालसम्म परियारको पोस्टमार्टम हुन सकेको छैन । परियारको मृत्युका बारेमा भने कुनै खुलासा भएको छैन ।
परियारको मृत्युको विषयमा अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ
त्यसैगरी यहाँ ५ महिना अघि पनि एक थुनुवाको मृत्यु भएको थियाे । मकवानपुरको भीमफदी गाउँपालिकामा रहेको भीमफेदी कारागारमा लागू औंषध मुद्दामा सजाय काटिरहेका बारा जिल्लाका गढीमाई नगरपालिका–१० का ४५ वर्षीय अजयप्रसाद जैसवालको मृत्यु भएको थियो ।
शौचालय जाँदा लडेर बेहोस भएका जैसवाललाई हेटौंडा अस्पतालमा मृत्यु भएको जनाएको थियो।