कावासोतीमा छात्र ,छात्रा दौड प्रतियोगिता सम्पन्न




कावासोती नगरपालिकाको शिक्षा शाखाको आयोजनामा दौड प्रतियोगिता भएको छ । नगरका कोपिला कार्यक्रम कार्यान्वयनका लागि आज १३ वर्ष भन्दा कम उमेर समूहका छात्र ,छात्रा बिच दौड प्रतियोगिता भएको हो । कावासोती १४ मा रहेको जनता मावि त्रिभुवनटारको खेल मैदानमा भएको प्रतियोगितामा छात्र दुई सय मिटरको दौड प्रतियोगितामा चण्डेश्वरी माविका प्रदिप महतो प्रथम भएका छन् । यसै गरि सिद्धार्थ आवासीय माविका दिप्सन राना द्वितीय र त्रिभुवन बाल मावि ढोकिका अकिंत केसी तृतीय भएका छन् ।

छात्रा तर्फ भएको १०० मिटर दौड प्रतियोगितामा लर्डबुद्धकि रिया थापा प्रथम, जनता माविकी पुनम तिमिल्सिना द्धितीय , कुमारी प्रावीकी सुकुमाया मगर तृतीय र सिद्धार्थ आवासीय माविकी सोम्या खाण ठकुरी सान्त्वना भएकीछिन् ।

जनता मावि त्रिभुवनटारका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लिला भण्डारीको अध्यक्षता, जिल्ला खेलकुद विकास समति नवलपुरका अध्यक्ष सेत बहादुर पुनको प्रमुख आतिथ्यमामा भएको कार्यक्रममा कावासोती नगरपालिका शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारी ,शिक्षा अधिकृत राजन पाण्डे सहित विभिन्न व्यक्तित्वको उपस्थिति रहेको कार्यक्रममा जनता माविका त्रिभुवनटारका प्रधानाध्यापक गिरिराज गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेत बहादुर पुनले खेलकुदको विकास विद्यालय स्तरबाट गर्नुपर्ने र नगरले १३ छात्र ,छात्रा समेटी प्रतियोगिता गरेकाले धन्यवाद दिँदै यसले खेल क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभयो ।

शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारीले खेलकुद प्रति सकारात्मक धारणा जगाउने र भोलि दिनमा विभिन्न खालका खेलकुदका प्रतियोगितामा सहज रुपमा प्रतिस्पर्धा गर्न सकुन् भनेर कार्यक्रम गरिएको बताउनुभयो । साथै नगरले नगरका कोपिला प्रकाशन गर्दै आएको र त्यसमा लेख ,रचना समेटिएपनि खेलकुदका विषय नसमेटिएकाले सोही कार्यक्रम अन्र्तगत प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

कक्षा नौ देखि १२ सम्मका विद्यार्थी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सहभागि हुने तर सो भन्दा तलका उमेर समूहका विद्यार्थी खेलकुद प्रतियोगितामा समावेश हुने ठाउँ नपाउने गरेकाले १३ वर्ष उमेर समूह मुनिको प्रतियोगिता गरिएको समेत शाखा प्रमुख भण्डारीले बताउनुभयो । यसले साना उमेर समूहका विद्यार्थीलाई खेलकुदमा आउन उत्प्रेरणा गर्ने समेत उहाँले बताउनुभयो ।

दौड प्रतियोगितामा प्रथम हुने छात्र प्रदिप महतोले यसले आफूमा थप हौसला मिलेको बताउँदै भोलिका दिनमा खेलकुदका कार्यक्रममा लाग्न उत्प्रेरण मिलेको बताए । आफू आर्मी बन्ने लक्ष्य रहेकाले त्यसका लागि समेत यस्ता गतिविभिधिले सहयोग पुग्ने उनको भनाई थियो ।

प्रथम हुन सफल छात्रा रिया थापाले यस खालका प्रतियोगितामा आफुहरु सहभागि हुने अवशर कमै पाउने गरेको बताउँदै नियमित रुपमा यस खालका कार्यक्रम हुनुपर्ने बताइन् । प्रतियोगितामा प्रथम हुँदा आफुलाई खुसी लागेको र भोलिका दिनमा खेलकुदका प्रतियोगितामा भाग लिन हौसला मिलेको बताइन् ।



सम्बन्धित
Loading...