मठाधीशले तीन करोडमा व्यक्तिलाई बेचे गुठीको जग्गा
रूपन्देहीको भैरहवामा एक मठाधीशले गुठीको जग्गा तीन करोडमा व्यक्तिलाई बेचेको पाइएको छ । गुठी संस्थानले उक्त जग्गा गुठीअन्तर्गतको रहेको जनाएको छ । रूपन्देहीको भैरहवास्थित मटिहानी गुठीका मठाधीश जगन्नाथदास वैष्णवले गुठीको नाममा रहेको झन्डै तीन करोड मूल्यबराबरको ३ कट्ठा ५ धुर जग्गा दुई व्यक्तिलाई बिक्री गरिदिएका हुन् । वैष्णवले उदयमान पाण्डे र सरोज पाण्डे नाम गरेका व्यक्तिलाई बिक्री गरेको लालपुर्जाको प्रमाण राजधानीलाई प्राप्त भएको छ । सो लालपुर्जामा जग्गाको सरकारी मूल्य ६१ लाख उल्लेख गरिएको छ ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय रानाले गुठीको जग्गा मठाधीशबाटै बिक्री भएको विषयमा गम्भीर रूपमा छानबिन भइरहेको जानकारी दिए । गुठी संस्थानसँग जानकारी माग गर्दा संस्थानको जग्गा रहेको र मठाधीशहरूबीच यस्ता जग्गा नामसारी गर्न सकिने व्यवस्था रहेको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी रानाले बताए । रानाले भने त्यस्ता जग्गा नामसारी गर्न वा बिक्री वितरण गर्ने सम्बन्धी कुनै कानुनी व्यवस्था नरहेको जानकारी दिएकाे राजधानी दैनिकमा खबर छ ।