विजयनगरमा कक्षा ११ र १२ का ६५ जना दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण
घनश्याम भर, कपिलवस्तु ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिकाले माध्यमिक विद्यालय तह कक्षा ११ र १२ मा अध्ययनरत दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेकाे छ । गाउँपालिकाले मंगलबार एक कार्यक्रमबीच ६५ जना दलित छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएकाे हाे । प्रति विद्यार्थीलाई ३६ सय रुपैयाँकाे दरले छात्रवृत्ति उपलब्ध गराइएको जनाइएको छ ।
सामाजिक र आर्थिक रुपमा पछाडी परेका दलित समुदायका बालबालिकाकाे शैक्षिक स्तर उत्थानका लागि छात्रवृत्ति वितरण गरिएकाे शिक्षा शाखाले जनाएको छ । उनीहरुले ११ र १२ कक्षा अध्ययनलाई निरन्तरता दिने र बीचमा पढ्दापढ्दै छाेड्ने क्रमलाई राेक्नका लागि दलित समुदायका बालबालिकालाई छात्रवृत्ति प्रदान गरिएको शिक्षा शाखाका प्रमुख हरिहर बेल्बासेले जानकारी दिए ।
कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले संघीय सरकार आएसँगै स्थानीय स्तरकाे संरचनामा विकासले फड्को मारेकाे बताए । उनले कपिलवस्तुकै सुदुरपश्चिमकाे दुर्गम क्षेत्रमा पर्ने विजयनगर गाउँपालिका अहिले मानव विकासकाे सुचाङ्क भन्दा माथि उठेकाे दाबी गरे ।
स्थानीय सरकारले हरेक पुर्वाधार विकासकाे क्षेत्रमा तीव्रता लिएकाे उनले जिकिर गरे । अध्यक्ष थापाले बालबालिका शिक्षित नभएसम्म समाजकाे उत्थान हुन नसक्ने बताउँदै आगामी आर्थिक वर्षदेखि कक्षा ११ र १२ मा अध्ययन गर्ने दलित छात्रछात्रालाई नि:शुल्क शिक्षा लागू गर्ने जनाए ।
उनले भने; ‘शिक्षा बिना जीवन अन्धकार हुन्छ । छाेराछाेरी शिक्षित बनाई सभ्य समाजकाे निर्माण गराैँ । समाज रुपान्तरणका लागि शिक्षा नै आवश्यक छ’ । उनले थपे; ‘सामाजिक विकासका लागि सबै समुदायकाे उत्तिकै महत्त्व छ । विस्तारै अन्य जातका बालबालिकालाई पनि यसरी नै कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थी छात्रवृत्ति वितरण गरिनेछ’ ।
यसैबीच गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले समानतामा आधारित नभएर समताकाे आधारमा दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको बताइन् । समुदायको आवश्यकतालाई मध्यनजर गर्दै छात्रवृत्ति कार्यक्रम लागु गरिएकाे उपाध्यक्ष चाैधरीकाे भनाइ छ ।
यस्तै ७ नम्बरका वडा अध्यक्ष दिनेश कुमार चाैधरीले दलित समुदायका बालबालिकाले उच्च शिक्षा हासिल गर्ने बताउँदै यस समुदायलाई अन्य समुदायले हेर्ने विभेदपूर्ण दृष्टिकाेणलाई हट्न सक्ने जिकिर गरे । उनले याे समुदाय पहिल्यैदेखि अपहेलित र गरिबकाे रेखामुनि रहेकाले गाउँपालिकाले छात्रवृत्ति प्रदान गरिएको बताए ।
यसैगरी नेपाल उत्पीडित जातीय मुक्ति समाज विजयनगरका अध्यक्ष ताैलेश्वर खटिकले दलित छात्रछात्राले उच्च शिक्षा हासिल गर्नका लागि मुक्ति समाजले अथक पहल गरेकाे बताए । उनले आर्थिक र समाजिक रुपमा निकै पछाडी रहेका विद्यार्थीलाई शिक्षाप्रति प्राेत्साहित गर्न गाउँपालिकाले छात्रवृत्ति उपलब्ध गराएकाे भन्दै आभार व्यक्त गरे । यसरी गाउँपालिकाले दलित समुदायप्रति शिक्षामा लगानी गरि सराहनीय काम गरेकाे भन्दै प्रशंसासमेत उनले गरे ।
कार्यक्रमलाई दुधाधारी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुग्रीव प्रसाद काेरी, लाैटनराम द्राेपदी देवी माध्यमिक विद्यालयका विद्यार्थी विजय कुमार माैर्य र दुधाधारी मावकी उमा सुनारले सम्बाेधन गरेका थिए ।