पाैडी खेल्दा खाेलामा डुबेर बालकको मृत्यु, बसकाे ठक्करबाट निधन

कपिलवस्तुको सुरही खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।
शिवराज नगरपालिका–२ का आठ वर्षीय सुचान रोकाको पौडी खेल्ने क्रममा मंगलबार डुबेर मृत्यु भएको हो ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीका अनुसार बहिनी र साथीसँगै घरबाट निस्केका रोका पौडी खेल्ने क्रममा डुबेको जानकारी दिए ।
रोकाकी बहिनीले स्थानीयवासीलाई घटनाबारे जानकारी गराएकी थिइन् ।
रोकाको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।
यसअघि पनि सोही स्थानमा पौडी खेल्ने क्रममा डुबेर तीन युवाको मृत्यु भएको थियो ।
बसको ठक्करबाट स्कुटरमा सवार एकको मृत्यु
भक्तपुरबाट काठमाडौँतर्फ तीव्र गतिमा जाँदै गरेको बा४ख २२१२ नंको बसले काठमाडौँतर्फ जाँदै गरेको बा७८प १०८३ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एकको मृत्यु भएको छ भने एक घाइते भएको छन् ।
आज मध्यपुरथिमी नगरपालिका ३ गठ्ठाघरस्थित ट्राफिक कार्यालय अगाडि अरनिको राजमार्गमा भएको उक्त दुर्घटनामा स्कुटरमा सवार काठमाडौँ जडीबुटीस्थित बर्गर हाउसमा कार्यरत २४ वर्षीय रेजिना तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।