हुप्सेकोट गाउँपालिकाले नयाँ आर्थिक बर्षदेखि सहरी खानेपानी संस्थालाई सहयोग नगर्ने

प्रिय धन –
नवलपुर, २१ असार –
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० मा खानेपानी संस्थालाई सहयोग नगर्ने भएको छ ।
सोमबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद बस्यालद्वारा जारी सूचनामा अबको नयाँ आर्थिक बर्षदेखि पालिकाले देउराली हुप्सेकोट सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई आर्थिल रुपले सहयोग गर्ने कार्यक्रम नरहेको स्पष्ट पारिएको छ ।
आर्थिक बर्ष २०७८/७९ मा सहयोगका लागि विनियोजित रकम भुक्तानीको चरणमा रहेको र नयाँ आर्थिक बर्षमा सहयोग नगर्ने बताईएको हो।
गाउँपालिकाले आर्थिक सहयोग दिंदा न्यूनतम महसुल १५० रुपैयाँसम्म तिर्नुपर्ने उपभोक्ताले पैसा तिर्नु पर्दैनथ्यो भने केहि उपभोक्ताले अब न्यूनतम शुल्क समेत तिर्नुपर्ने वाध्यता आईपर्न सक्ने बताएका छन् ।
उता देउराली हुप्सेकोट सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष प्रेम बहादुर घर्तीले भने संस्थामा ३० लाख रुपैयाँ विपन्न परिवारका लागि भनेर छुट्टिएको रकम भएको र सोही रकमबाट छलफलपश्चात न्यूनतम महसुल सम्बन्धी निर्णय गरिने बताए ।
उनले विपन्नका नाममा आर्थिक रुपले सक्षम भएकाले पनि राहत खोजेको भन्दै न्यूनतम महसुल छुट सम्बन्धी पुनर्विचार गरिने बताए ।
