अर्थमन्त्री शर्माले दिए राजीनामा, छानबिन गर्न संसदीय विशेष समिति गठन




अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।

उनले संसदीय छानबिनलाई सहयोग गर्ने बताएका छन् ।




आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्नु अघिल्लो दिन २४ जेठ मध्यराति अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमाथि संसदीय विशेष छानबिन समिति गठन गरेपछि उनले राजीनामा दिएका हुन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्ने क्रममा अर्थमन्त्री शर्माले आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

छानबिन समितिलाई काम गर्न सहजता प्रदान गर्न राजीनामा दिएको जानकारी दिँदै उनले छानबिन समिति गठनको स्वागत गर्दै समितिकाे प्रतिवेदन स्वीकार्य रहने पनि बताए ।

एमालेसहितका सांसदले अर्थमन्त्रीको राजीनामा माग्दै आएका थिए । अर्थमन्त्री शर्माले राजीनामा नदिएको भन्दै बुधबारकै प्रतिनिधिसभाको बैठक एमालेले बहिस्कार गरेको थियो ।

छानबिन गर्न संसदीय विशेष समिति गठन

 

अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ।आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले दलहरूबाट प्राप्त संसदीय छानबिन समितिका ११ जनाको नाम प्रस्ताव गरेका थिए।

अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति लगेर करका दर हेरफेर गरेको आरोप छ। अर्थमन्त्री शर्माबारे छानबिन गर्न संसदीय छानबिन समितिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट चार जना सांसद रहेका छन्।

एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक सदस्य छन्। यो समितिमा नेपाली कांग्रेसबाट पुष्पा भुसाल गौतम र सीताराम महतो, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरूङ र शक्तिबहादुर बस्नेत रहनेछन्।

यस्तै नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जसपाका सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण एकरएक जना सदस्य गरी कूल ११ सदस्यीय संसदीय छानबिन गठन भएको हो।सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष छानबिन समिति गठन भएको बताएका छन्।

 

 

मैले सीसीटिभीको फुटेज डिलिट गरेको छैन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आफूले अर्थ मन्त्रालयको सीसीसीटिभीको फुटेज डिलिट नगरेको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा  सार्वजनिक महत्वको विषयमा बोल्दै उनले आफूले सीसीटिभीको फुटेज डिलिट नगरेको दाबी गरेका हुन् । यसको ज्ञान पनि नरहेको उनको भनाइ छ । 

‘मैले सीसीटिभीको फुटेज डिलिट गरेको छैन । यसको ज्ञान पनि छैन मसँग,’ उनले भने, ‘यो प्राविधिक कुरा हो, प्राविधिकले जान्ने विषय हो । गलत प्रचार गरियो ।’ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नु अघिल्लो दिन २४ जेठ मध्यराति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप अर्थमन्त्री शर्मामाथि लागिरहेको छ ।

पछिल्लो १३ दिनको मात्र फुटेज रहने र बाँकी आफैं मेटिँदै जाने अर्थ मन्त्रालयले बताएपछि नियोजित रुपमा डिलिट गरिएको आरोप पनि अर्थमन्त्री शर्मामाथि लागेको छ ।

 

 

अर्थमन्त्री शर्माको भाषण प्रतिपक्षद्वारा बहिस्कार

नैतिकताको आधारमा राजीनामा नदिएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको मन्तव्य नसुनी प्रमुख प्रतिपक्ष दलले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ ।

बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका मन्त्री शर्माले राजीनामा नदिएको भन्दै एमालेले संसद् बैठक बहिष्कार गरेका हुन् ।



सम्बन्धित
Loading...