चितवनमा चट्याङ लागेर १४ रोपाहार घाइते

चितवन –
चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन्।
कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए।
सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घाइते हुनेहरुमा कालिका ८ का २१ वर्षीया रोजिना श्रेष्ठ, २० वर्षीया रोशी श्रेष्ठ, ३८ वर्षीया दिलकुमारी अधिकारी, २५ वर्षीया सुस्मिता श्रेष्ठ, २१ वर्षीया राधिका मिजार, १८ वर्षीया सीमा सुनार, २३ वर्षीया कमला विक, २५ वर्षीया संगीता सुनार, ३० वर्षीया अनिता तामाङ, ४३ वर्षीया अनु श्रेष्ठ, ३५ वर्षीया कमला कामी, २० वर्षीया लक्ष्मी मिजार, ४५ वर्षीया चिनामाँया सुनार र १८ वर्षीया देवी विक घाइते रहेका छन् ।
घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
अन्य नौ जना गए राति नै उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ।
घाइते पाँच जनाको अवस्था खतरामुक्त रहेको छ। बुधबार साँझ ६ बजेको समयमा चट्याङ परेको बताइएको छ।