नवलपरासीमा ट्रकसहित १२ लाखको चिनी बरामद

हरि शर्मा –
परासी । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको १२ लाख बढी मूल्य पर्नेे चिनीलाई प्रहरीले नवलपरासीको बर्दघाट बजारबाट बरामद गरेको छ ।
पछिल्लो पटक जिल्लाका सीमावर्ती नाकाबाट चिनी तस्करी हुने गरेपनि वास्ता नगरिएकोे आलोचना बढेपछि प्रहरीले सक्रियता बढाएको हो ।
प्रहरीको सक्रियतासँगै दैनिकजसो चिनीसहितका अवैध सामान बरामद हुन थालेका हुन् । आइतबार बिहान मात्र ट्रकमा लोड गरी लैजादै गरेको तस्करीको चिनीलाई प्रहरीले बर्दघाटको टिसिएन चोकबाट बरामद गरेको हो ।
ना ६ ख २३८८ नंम्बरको ट्रकमा लोड गरी चितवनतर्फ लैजान लागेको ४ सय १८ बोराको चिनीको तौल २० हजार ८ सय ९४ केजी छ । जसको मूल्य १२ लाख ५३ हजार कायम गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नायब उपरीक्षक(डिएसपी) प्रेमबहादुर शाहीले जानकारी दिए ।
नाकाहरुबाट दैनिक १० देखि १२ ट्रक चिनी तस्करी हुने गरेको आलोचनापश्चात लुम्बिनी प्रदेश प्रहरी प्रमुख (डिआइजी) नलप्रसाद उपाध्यायले जिल्लासहित मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएपछि नवलरासी प्रहरीले सक्रियता बढाएको बताइएको छ ।
चिनीसहित कपडा, खसी बोकालगायतको तस्करी बढेपछि प्रदेश प्रहरीले पनि छुट्टै निगरानी बढाएको प्रदेश प्रहरी स्रोतले बताएको छ ।
त्यसैगरी आइतबार नै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख २०१५ नम्बरको यात्रुबहाक बसबाट भन्सार छलेर ल्याएको एक लाख ५७ हजार बराबरको लेडिज सुट, जेन्स टिर्सट, टप्सलगायतका कपडा बरामद भएको डिएसपी शाहीले जानकारी दिए ।
बरामद भएको ट्रकसहितमा मालबस्तु आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
यसैबीच सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालयको संयुक्त गस्ती टोलीले शनिबार नवलपरासीको प्रतापपुर गाउँपालिका धर्मौली नाकाबाट सात लाख बराबरको १ सय १८ क्विन्टल चिनी बरामद गरेको छ ।
विशेष गरी रातको समयमा गस्ती बढाएर निगरानी गरिरहेका बेला प्रहरीलाई छक्काएर बिहान र दिउँसोको समयलाई प्रयोग गर्न थालेपछि अहिले विशेष टोली खटाएर नियन्त्रणकालागि लागि परेको जिल्ला प्रहरी उपरीक्षक ऋषिराम कडेलले बताए ।
चोरी तस्करी बढेको गुनासो पछि शसस्त्र प्रहरी बल नेपाल २६ नं. गण बेलासपुरले समेत सीमा क्षेत्रमा पैदल र सवारी गस्तीलाई बढाएर निगरानी बढाएको छ ।
https://www.youtube.com/watch?v=6mi4H53ko4s&t=22s