इन्डक्सन चुलो वितरण रोकियो




काठमाडौँ उपत्यकामा बसोबास गर्ने दुर्गम क्षेत्रका विद्यार्थीलाई निःशुल्क रूपमा उपलब्ध गराउने भनिएको इन्डक्सन चुलो वितरण कार्यक्रम रोकिएको छ।

 

यस्तो चुलोको आपूर्तिकर्ताले उपलब्ध गराएको चुलोको गुणस्तर मापदण्ड नमिलेको पाइएपछि वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रले वितरण प्रक्रिया रोकेको हो।

 




केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीका अनुसार खुला बोलकबोलमार्फत छानिएको इन्डक्सन चुलोको आपूर्तिकर्ताले ल्याएका इन्डक्सन चुलो तोकिएको मापदण्डभन्दा फरक पाइएकाले रोकिएको हो ।

 

“हामीले प्राप्त गरेका इन्डक्सन चुलोको ल्याब परीक्षण गर्दा आकार सानो पाइयो, तोकिएको मापदण्डभन्दा फरक आएपछि सामान वितरण गर्ने कुरा भएन। आपूर्तिकर्तालाई यसबारे स्पष्टीकरण पेस गर्न भनेका छौँ,” उनले भने।

 

बोलकबोल प्रक्रियाबाट यो ठेक्का डोलेश्वर एन्ड महेश जेभीले पाएको थियो।

सरकारले विद्युत् खपत प्रबर्द्धन गर्न भन्दै गत माघमा १० हजार थान विद्युतीय चुलो वितरण गर्न सार्वजनिक आवेदन मागेको थियो। आवेदन गरेका योग्य सबै आवेदकलाई इन्डक्सन उपलब्ध गराउने तयारी केन्द्रको हो।

 

केन्द्रको योजनाअनुसार चालू आर्थिक वर्षभित्रै उच्च माध्यमिक तथा स्नातक तहमा अध्ययन गरिरहेका दुर्गमका विद्यार्थीलाई इन्डक्सन चुलो दिने योजना थियो ।

 

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत स्थानीय निकायको सहयोगमा घरघरमा इन्डक्सन बाढ्ने योजनासमेत अगाडि सारेको छ।

 

चालू आर्थिक वर्ष स्वच्छ ऊर्जाको माध्यमबाट खाना पकाउने गुइँठा, कृषिजन्य अवशेषको प्रतिस्थापन र ऊर्जा नपुगेको क्षेत्रमा स्वच्छ कार्यक्रम सञ्चालन क्रियाकलापबाट बचेको रकमले १० हजार थान इन्डक्सन खरिद गरी वितरण गर्नेगरी केन्द्रले यो कार्यक्रम सञ्चालन गरेको हो।

 

 

विद्युत्को खपतमा वृद्धि गरी आयातित पेट्रोलियम पदार्थको खपतलाई न्यूनीकरण गर्दै जाने सरकारको लक्ष्य बमोजिम हाल विद्युतीय चुलोको प्रवद्र्धनमा जोड दिइएको छ।



सम्बन्धित
Loading...