माेटरसाइकल र जीपकाे ठक्करबाट २ जनाकाे निधन

सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीस्थित चतरा–पकली सडकखण्डमा बुधबार राति जिपको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बराहक्षेत्र-५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को१च ७७९१ नम्बरको टाटा सुमो (जिप) ले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्री धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते धामीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने चालक उदयपुरको बेल्टार–७ का ४३ वर्षीय समिर ओझालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपनी गाउँपालिका–६ का ५५ वर्षीय दीपनारायण मेहता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको स ४ प १३३४ नम्बरको मोटरसाइकलले पैदलयात्री मेहतालाई ठक्कर दिएको हो ।
ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो ।
उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।