राहत भागबण्डामा जनप्रतिनिधिबीच कुरा नमिलेपछि नवलपरासीको सरावलमा कुटाकुट

हरि शर्मा –
परासी, ३१ असार – विपन्नहरुले पाउने राहतमा पनि नवलपरासीका जनप्रतिनिधिहरुले दलिय आधारमा भागबण्डा गर्ने गरेको खुलेको छ ।
राहत रकम वितरण कार्यमा भएको भागबण्डामा कुरा नमिलेपछि उत्पन्न विवादमा सरावल गाउँपालिकाको वडा नं. ५ मा कुटाकुट समेत भएको छ ।
जनप्रतिनिधिहरुबीचको विवाद बाहिर आएपछि कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुटहुँदा १८ जना घाइते भएका छन् ।
सरकारले कोरोनाबाट प्रभावित भएका अति विपन्नका लागि रकम पठाएको छ । गाउँपालिकाको वडा नं. ५ मा पठाइएको रकम वितरणका लागि आएको नाममा विवादहुँदा बिहीबार राति भएको कुटाकुटमा उनीहरु घाइते भएका हुन् ।
रकम वितरणमै विवादहुँदा चार दिनदेखि बन्द भएको अर्को वडा (वडा नं. २ को) कार्यालय अहिलेसम्म खुल्न नसकेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । कोटा लिएर रकम वितरण हुँदा वास्तविक विपन्नहरु रकम पाउनबाट बञ्चित हुने देखिएको छ ।
कोरोनाका समयमा घरमा कसैको पनि आयस्रोत नभएको र सामाजिक सुरक्षा भत्तासमेत नपाउने अति विपन्न परिवारका लागि सरकारले प्रति परिवार १० हजारका दरले रकम पठाएको छ । यो रकम सरकारले जिल्लाका सबै पालिकाहरुमा जेठको अन्तिम सातामा पठाएको हो । सरावल गाउँपालिकामा कुल ७ सय जनाका लागि कुल ७० लाख रुपैयाँ आएको अध्यक्ष चौधरीले बताए । सोही रकम वितरणमा कांग्रेस र एमालेका जनप्रतिनिधिहरुबीच विवाद भएको हो । ७ वटा रहेको पालिकामा करिब १४ सयले विपन्न भन्दै फाराम भरेको गाउँपालिका अध्यक्ष चौधरीले बताए ।
यसअघि निर्वाचित भएका एमालेका निवर्तमान वडाअध्यक्षले पठाएको विपन्नको नाम अहिले कांग्रेसबाट निर्वाचित भएका वडाअध्यक्षले काटेर पठाएको एक पक्षको आरोप छ भने अर्को पक्षले पहिला सम्पन्न व्यक्तिहरुको नाम पठाएको अर्को पक्षले आरोप लगाएपछि कांग्रेस एमालेका कार्यकर्ताबीच कुटाकुट भएको हो ।
वडा नं. ५ का अध्यक्ष लक्ष्मण चौधरीले फाराम नभरेकाहरुको पनि नामावली समावेश गरी रकमका लागि पालिकामा सिफारिस पठाएको आरोप लगाइएको छ । उक्त वडाबाट मात्र अति विपन्नबाट ४ सय १८ जनाले फाराम भरेका थिए । सुरुमा सबैको नामावली वडाअध्यक्षले पालिकामा पठाएका थिए । तर पालिकाले १ सय ६ जनाको नाम पठाउने भनेपछि वडाअध्यक्षले सोही अनुरुप नाम पठाएका थिए । ति सबैको नाम उपर दाबी विरोध गर्न पालिकाले सूचना जारी गरेको थियो । सोही सूचनाअनुसार वडाअध्यक्ष चौधरीले वडाबाट पठाएको नामावलीलाई गाउँपालिकाले थपघट गर्दै नामावली निकालेको भन्दै ३२ जनाको सूची हटाउन निवेदन दिएपछि विवाद सुरु भएको हो ।
https://www.youtube.com/watch?v=FUU2bmS3-xo&t=9s
विवादपछि १२ जना गाउँपालिका उपाध्यक्ष वासमति हरिजनले आफ्ना मान्छे राख्ने र बाँकी २० जना वडाअध्यक्षलाई आफ्ना मान्छे राख्न दिने सहमति भएको थियो । सहमतिमा वडाअध्यक्षलाई दाबी विरोध फिर्ता लिनुपर्ने बताए पनि उनले फिर्ता नलिएपछि विवादले उग्र रुप लिएको हो । उपाध्यक्ष हरिजन एमालेकी हुन भने वडाअध्यक्ष चौधरी कांग्रेसका हुन् ।
विवादले उग्ररुप लिदैं कुटपिटको घटना भएपछि प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको पहलमा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा जनप्रतिनिधि र कांग्रेस एमालेका पार्टी प्रतिनिधिहरुलाई छलफलका लागि बोलाएका थिए ।
छलफल कार्यक्रममा वडा नं. ४ का अध्यक्ष एव गाउँपालिकाका प्रवक्ता सुरेश यादवले उपाध्यक्ष र वडाअध्यक्षलाई कोटा दिएर विवाद मिलाउन सहमति गरेपनि वडाअध्यक्षले दाबी विरोधको निवदेन फिर्ता नलिएपछि विवाद भएको बताए । ‘ मैले उपाध्यक्षजीलाई हाम्रो पक्षमा १२ जना प¥यो । वडाअध्यक्षले पाएको २० जनाको कोटा कसरी मिलाउनु हुन्छ उहाँको कुरा हो । विवाद नगरौं भन्दै सहमति गरिएको हो । पछि निवदेन फिर्ता नलिएपछि कुरा मिलेन र विवाद भयो । ’ यादवले भने ।
कोटामा सहमति भएको उपाध्यक्ष र वडाअध्यक्षले पनि स्वीकार गरे । ‘आफूले पठाएका नामावली मध्ये उपाध्यक्षले केही व्यक्तिको नाम थप गर्नुभयो । मेरा मान्छेको नाम पहिल्यै काटियो । त्यसैले निवदेन फिर्ता लिइन ।’ वडाध्यक्ष चौधरीले भने ।
असारको अन्तिम समयमा रकम आएकाले विवादपछि ३२ जनाको नाम हटाएर ७४ जनाको रकम दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष सुखाडी चौधरीले भने ।
विपन्नहरुको नामावली संकलन यसअघिको वडा जनप्रतिनिधिहरुले गरेका थिए । यसअघिका वडाअध्यक्ष दिनेश सहानीले राजनीतिक प्रतिसोधमा आफ्ना मान्छेको नाम सिफारिस गरेर पठाएको आरोप लगाएका छन् । तर अहिलेका वडाअध्यक्ष चौधरीले भने सम्पन्न व्यक्तिहरुको नाम संकलन गरेकाले काटेर पठाएको बताएका छन् । वडाअध्यक्ष चौधरीले निवर्तमान अध्यक्ष सहानीले गाउँले उचालेर विवाद निकालेको दाबी गरेका छन् । निर्वतमान वडाअध्यक्षले भने आफूले वास्तविक नाम पठाएपनि अध्यक्षले काटेर पठाएपछि जनता आक्रोशित भएर घटना भएको दाबी गरेका छन् ।
कोटाबाट राहत रकम वितरण गर्ने खुलासा भएपछि कार्यक्रममा सहभागी भएका लुम्बिनी प्रदेशका सभासद दीपेन्द्र अधिकारीले विपन्नहरुलाई पनि हाम्रो र तेरो मान्छे भनेर विभेद गर्नु दुर्भाग्य भएको बताए । ‘ विपन्न र गरिबमाथि पनि राजनीति गर्ने हो । यस्तो सन्देशले राजनीति प्रति आम जनताको धारणा कस्तो बन्छ । यसलाई ख्याल गर्नु पर्दैन ।’ सभासद अधिकारीले भने ।
७ वडा रहेको पालिकामा अहिले २ वटा वडामा विवाद भएपछि अन्य वडाले पनि रकम वितरण गर्न सकेका छैनन् । विवाद नभएका केही वडाहरुले पनि कोटामा नामावली टुंगाएको आरोप स्थानीयको छ । विवादका कारण अहिलेसम्म रकम वितरण हुन नसकेपछि सबै रकम फ्रिज भएर जाने अवस्था आएको पालिकाले जनाएको छ । प्रशासन कार्यालयमा भएको छलफलमा छुटेका व्यक्तिहरुको नाम पनि समावेश गरी प्रकृया अघि बढाउने सहमति भएको छ ।
६ जना अस्पतालमा
विवादपछि कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको कुटाकुटमा परी घाइते भएका १८ मध्ये ६ जनाको अहिले लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक(एसपी) ऋषिराम कडेलले बताए ।
घाइते हुनेमा कांग्रेसका ८ र एमालेका १० जना रहेको प्रहरीले जनाएको छ । दुई पक्षले इट्टा र ढुंगा प्रहार गर्दा उनीहरु घाइते भएका हुन् । टाउकोमा चोट लागेका उनीहरुको अवस्था भने सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।
https://www.youtube.com/watch?v=p5AN27HiZP0&t=8s