स्वीकृत नलिई वा नविकरण नगरी सञ्चालित स्वास्थ्य संस्थालाई कारवाही गरिने

रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीमा सम्बन्धित निकायबाट स्वीकृत नलिई वा नविकरण नगरी सञ्चालन गरेका स्वास्थ्य संस्थालाई कारवाही गरिने भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले आइतबार सूचना जारी गरी साउन मसान्त भित्र सम्बन्धित निकायबाट स्वीकृत वा नविकरणका लागि निवेदन पेश गर्न भनिएको छ । यसरी स्वीकृतका लागि वा नविकरणका लागि निवेदन नआए र स्वीकृत वा नविकरण नगरी सञ्चालन गरेको पाइए कारवाही प्रक्रिया अगाडि बढाउने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
चापागाईका अनुसार स्वीकृत नलिई वा नविकरण नगरी स्वास्थ्य संस्था सञ्चालन गरिएको पाइए जनस्वास्थ्य सेवा ऐन २०७५ तथा नियमावली २०७७ बमोजिम १० लाखसम्म कारवाही हुने प्रावधान रहेको छ ।
नवलपुरमा ५० बेड माथिको कालीगण्डकी अस्पताल मात्र स्वीकृत लिएर सञ्चालनमा रहेको छ । त्यसैगरी १५ शैयासम्मको अस्पतालहरुमा जीवन सिटी अस्पताल, नवलपुर अस्पताल, इन्टिगे्रटेड अस्पताल, देवचुली अस्पताल, गैडाकोट अस्पताल लगायत ६ वटा अस्पताल मात्र स्वीकृत लिएर सञ्चालनमा आएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
त्यसैगरी नवलपुरमा १५ वटा पोलिक्लिनक, ३ वटा डेण्टल क्लिनिक र २ वटा आँखा क्लिनिक मात्र दता गरी सञ्चालनमा रहेको चापागाईले बताए ।
नवलपुरमा मेडिकल (औषधी पसल), अस्पताल, पोलिक्लिनक, स्वास्थ्य क्लिनिक गरी ५ सय बढी स्वास्थ्य संस्था सञ्चालनमा रहेको अनुमानित तथ्यांक रहेको छ ।
नवलपुरमा सबैभन्दा बढी औषधि पसल अर्थात मेडिकल सञ्चालनमा रहेको भए पनि मेडिकल (औषधि पसल) औषधि व्यवस्था विभागमा दर्ता हुनु पर्नेमा दर्ता अभिलेख जिल्ला स्वास्थ्य कार्यालयमा नआउने गरेका कारण कति स्वीकृत लिएर नविकरण गरि सञ्चालन गरेको अभिलेख स्वास्थ्य कार्यालयमा नरहेको चापागाईले जानकारी दिए ।
जनस्वास्थ्य सेवा ऐन २०७५ तथा नियमावली २०७७ अनुसार ५० देखि २०० शैयासम्मको अस्पतालहरु प्रदेश सरकारबाट स्वीकृत लिनु पर्ने प्रावधान रहेको छ ।
त्यसैगरी १५ शैयासम्मको अस्पताल र स्वास्थ्य क्लिनिक स्थानीय तहबाट स्वीकृत लिनुपर्ने, पोलिक्लिनिक, आँखा किलनिक, र टेण्डल क्लिनिक प्रदेश सरकार मातहतको जिल्ला स्वास्य कार्यालयबाट स्वीकृत लिनु पर्ने र मेडिकल (औषधि पसल) औषधि व्यवस्था विभागबाट स्वीकृत लिनु पर्ने प्रावधान रहेको छ ।
https://www.youtube.com/watch?v=FUU2bmS3-xo&t=773s