मिटरब्याजी साहू विरुद्ध पश्चिम नवलपरासीमा १११ उजुरी, नवलपुरमा भने उजुरी शून्य




रामकुमार श्रेष्ठ –

नवलपरासी । पश्चिम नवलपरासीमा मिटरब्याजी साहू विरुद्ध १ सय ११ उजुरी परेको छ । भदौ ५ सम्म १०४ वटा उजुरी परेकोमा कार्यदलले उजुरीको म्याद थप गरेपछि थप ७ वटा उजुरी परेको र उजुरी पर्ने क्रम जारी रहेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले बताए ।




यस अघि जिल्लामा मिटर व्याजले घरबार विहीन हुनु परेको भन्दै २५ जनाले मात्र जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएका थिए । तर गृह मन्त्रालयले औपचारिक निवेदन नै माग गरेपछि उजुरी दिनको संख्या ह्वात्तै बढेको हो ।

प्रमुख जिल्ला अधिकारी पोख्रेलले भने उजुरी लिने क्रम जारी रहेको बताए । उनले भने – उजुरी लिने क्रम जारी छ । अहिलेसम्म १११ वटा उजुरी परेका छन् । उक्त उजुरी कति जना विरुद्ध र कति रकम मिटर ब्याजीको उजुरी भन्ने केलाउन बाँकी छ ।

पोख्रेलका अनुसार एउटै व्यक्ति विरुद्ध ३ वटासम्म उजुरी परेको छ ।

नवलपुर शून्य

पूर्वी नवलपरासीमा पनि मिटर व्याजका कारण कयौं मानिसहरु घरबार विहीन भएका छन भने कतिपय ऋण तिर्न नसकेर घर छाडेर भागेका छन् तर सरकारले आधिकारिक रुपमै मिटर ब्याजी साहू विरुद्ध उजुरी दिन आव्हान गरे पनि पूर्वी नवलपरासीमा अहिलेसम्म कुनै पनि उजुरी परेको छैन ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले नवलपुरमा अहिलेसम्म कुनै उजुरी परेको छैन ।

 

एक जना साहू भारतबाट पक्राउ

नवलपरासीका २७ जनालाई ८७ लाख ऋण दिएर तीन करोड २० लाख उठाएपछि पनि दुई करोड २६ लाख बाँकी देखाउने खुँखार मिटरब्याजी साहुकार जगदीश कानु बानियाँ भारतबाट पक्राउ परेका छन् ।

नवलपरासी प्रतापपुर गाउँपालिका– ९ का ५५ वर्षीय जगदीशलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट खटिएको प्रहरी टोलीले सोमबार राति भारतबाट पक्राउ गरेको हो ।

 

सरकारले मिटरब्याज अपराध अध्ययनका लागि गठन गरेको उच्चस्तरीय कार्यदलका संयोजक डा. भीष्मकुमार भुसालले जगदीशलाई पक्राउ गरिएको बताए । उनी पक्राउ परे लगतै कार्यदलको टोली विहीबार पश्चिम नवलपरासी आएको थियो ।

टोलीले सुस्ता र प्रतापपुरमा मिटरब्याज पीडितहरुसँग अन्तरक्रिया गरेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले बताए ।

 

 



सम्बन्धित
Loading...