मध्यविन्दु जिल्ला अस्पताल सरकारी दरबन्दी अनुसार छैनन कर्मचारी, निजी स्रोतको भरमा अस्पताल




रामकुमार श्रेष्ठ
नवलपरासी । मध्यविन्दु जिल्ला अस्पताल अहिले १५ शैयाबाट ५० शैयामा सञ्चालनमा आएको छ ।

पूर्वी नवलपरासीमा बद्दो सवारी दुर्घटना र दुर्घटनाबाट घाइते भएका विरामीहरुको उपचार नवलपुरमा सहज नभएपछि त्यसको परिपूर्तिका लागि समुदायबाट खोलिएको मध्यविन्दु सामुदायिक अस्पताल देशमा संघीयता आएपछि जिल्ला अस्पताल अर्थात सरकारी अस्पताल त भयो तर अझै पनि दुई तिहाई बढी कर्मचारी आन्तरिक स्रोतबाटै पाल्नु परेको छ ।




१५ शैंयाको दरबन्दी र भरखर मात्रै ५० शैयाको स्वीकृत भएको तर पत्र र दरबन्दी नआएको मध्यविन्दु जिल्ला अस्पतालमा १५ शैयाकै अस्पताल मानेर दरबन्दी हेर्ने हो भने कम्तिमा ३१ जना जनशक्ति सरकारी दरबन्दी हुनु पर्ने हो तर अस्पतालको कार्यालय प्रमुख अर्थात मेडिकल सुपरिटेन्डन्टदेखि कार्यालय सहायकसम्मको पद अझै पनि रिक्त रहेको छ ।

गत साउन २० मा तत्कालिन मेडिकल सेपरिटेन्डेण्ट डा. विरबहादुर थापा संघीयमा समायोजन भएर सरुवा लिएर गएपछि उनको पद एक महिनादेखि खाली छ । जसले गर्दा कर्मचारीलाई तलब खुवाउनेदेखि औषधि खरिदसम्मको निर्णय गर्न अस्पताललाई अप्ठेरो भएको अस्पतालको सूचना अधिकारी छविलाल सुवेदीले बताए ।

३१ दरबन्दी मध्ये मेडिलक सुपरिटेन्डेन्ट १ जना, मेडिकल अधिकृत २ मध्ये १ खाली छ भने १ जना ३ बर्षका लागि अध्ययन विदामा रहेका छन् ।
त्यसैगरी स्टाफ नर्समा ६ जनाको दरबन्दी रहेकोमा ४ जना खाली रहेको छ । सरकारीले ६ जनाको दरबन्दीमा ३ जना स्टाफ नर्स पठाएको भए पनि १ जना विदेश गएपछि अहिले स्टाफ नर्समै ४ पद खाली रहेको छ ।

सूचना अधिकारी सुवेदीका अनुसार ल्याब टेक्निेसिन १ को दरबन्दी रहेकोमा उनी सरुवा भएरगएदेखि खाली रहेको छ । त्यसैगरी १ जना सुब्बाको दरबन्दी रहेकोमा उक्त पद जिल्ला अस्पतालमा भएदेखि नै रिक्त रहेको छ ।
त्यसैगरी २ जनाको दरबन्दी रहेको अहेबमा १ जना र २ जनाकै दरबन्दी रहेको अनमीमा १ जना खाली छ भने खरदार तहको कार्यालय सहायक पनि जिल्ला अस्पताल भएदेखि नै खाली रहेको छ । दरबन्दी अनुसारको कर्मचारी सरकारले नपठाएको भए पनि अस्पतालमा अहिले जनशक्ति अभाव नभएको मध्यविन्दु जिल्ला अस्पतालका अध्यक्ष बालकृष्ण घिमिरेले बताए ।

त्यसो त अस्पतालमा अहिले आन्तरिक स्रोतका ४७ कर्मचारी, स्वास्थ्यकर्मी, छात्रवृत्ति करारका १० जना डाक्टर, अस्थायी करारका १७ जना डाक्टर र स्वास्थ्यकर्मी र ग्रामिण फाउन्डेसन नामक संस्थाको सहयोगमा तलब खाने गरी ६ जना गरी १ सय बढी कर्मचारी तथा स्वास्थ्यकर्मी मध्यविन्दु जिल्ला अस्पतालमा रहेका छन् ।
न्यूनतम ४० देखि ५० को हाराहारीमा अस्पतालमै भर्ना हुने गरी विरामी आउने यस मध्यविन्दु अस्पतालमा निजी स्रोतका कर्मचारीलाई तलब खुवाउन अस्पताललाई हम्मे हम्मे परेको छ । त्यसमाथि स्वास्थ्य विमाको उपचार वापतको सरकार मार्फत पाउनु पर्ने रकम बेलैमा नआउँदा थप संकट हुने गरेको मध्यविन्दु जिल्ला अस्पतालका अध्यक्ष बालकृष्ण घिमिरेले बताए ।

यहाँ अहिले १३ जना छयरोगका विरामीहरु अस्पतालमै भर्ना भएर स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचारमा छन भने दैनिक ३०÷४० जना अस्पतालमै भर्ना गर्नु पर्ने विरामी आउने गरेको सूचना अधिकारी सुवेदीले बताए ।
अस्पतालमा भर्ना हुने विरामीको चाप, स्वास्थ्य विमाका सेवाग्राहीको र अन्य उपचारका लागि आउने विरामीको चापले अस्पतालमा कर्मचारीलाई दिनहुँ जसो भ्याइ नभ्याई हुने गर्दछ ।
सुवेदीले भने विरामीको चाप अनुसार कर्मचारी स्वास्थ्य कर्मी राख्नु पर्यो त्यसो गर्दा आन्तरिक स्रोतबाट तलब खाने ४७ जना जनशक्तिलाई मासिक ३ लाख बढी तलब खुलाउनु पर्ने बाध्यता अस्पतालसँग छ ।

रोकिएको सर्जरी सेवा शुरु
झण्डै ५ महिनादेखि रोकिएको सर्जरी सेवा अस्पतालमा पुन शुरु भएको छ । हाल आएका छात्रवृत्ति करारमा सर्जन डाक्टर परेका कारण अस्पतालमा सर्जरी सेवा शुरु भएको अस्पतालले जनाएको छ ।

मध्यविन्दु जिल्ला अस्पतालमा अहिले हर्निया, पाल्यस, एपेन्डिक्स, शल्यक्रियाबाट सुत्केरी सेवा लगायतका सेवामा सर्जरी (शल्यक्रिया) सेवा रहेको छ ।

विमाको १ करोड २५ लाख बाँकी

गत असारमा १ करोड २५ लाख बढी स्वास्थ्य विमा बोर्डबाट भुक्तान पाउन बाँकी रहेको मध्यविन्दु जिल्ला अस्पतालले असारको अन्त्य तिर ४९ लाख भुक्तान पाएको भए पनि पुन भुक्तान पाउन बाँकी रकम १ करोड २५ लाख नाघेको छ ।
अस्पतालको सूचना अधिकारी सुवेदीका अनुसार विमाको रकम बेलैमा नआउँदा औषधि खरिदमा समस्या हुने गरेको छ ।

 



सम्बन्धित
Loading...