पल प्रकरणः पललाई साढे २ बर्ष कैद फैसला

रामकुमार श्रेष्ठ –
नवलपरासी । जबरजस्ती करणी आरोपमा मुद्दा खेपेका अभिनेता पल शाहले जबरजस्ती करणीको मुद्दामा सफाइ पाएका छन् ।
उनलाई नवलपुर जिल्ला अदालतले जबरजस्ती करणीको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगको अभियोगमा साढे २ बर्ष कैद सुनाएको छ ।
मंगलबार नवलपुर जिल्ला अदालतको २ नम्बर इजलासमा भएको फैसलामा न्यायाधिष यज्ञप्रसाद आचार्यले अभिनेता पल शाहलाई बालगायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सफाई दिंदै बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे २ बर्ष कैद सुनाएका हुन् ।
त्यसैगरी पल शाहलाई पीडित बालिकालाई १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना समेत फैसला गरेको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए ।
नवलपुर जिल्ला अदालतले जबरजस्ती करणीमा सफाइ दिंदै बाल यौन दुव्र्यवहारमा दोषी ठहर गरे पनि तनहूँ जिल्ला अदालतको फैसला भने आउन बाँकी छ । तनहुँ जिल्ला अदालतले उनलाई सफाई दिए पनि अभिनेता शाह नवलपुर जिल्ला अदालतको आदेशमा कम्तिमा साढे २ बर्ष जेल बस्नु पर्ने छ ।
त्यसैगरी नवलपुर जिल्ला अदालतले बालगायिकाको अभिभावकले जाहेरी र अदालतमा दिएको बयान फरक गरेका कारण १ पटकलाई सचेत गराउने काम गरेको छ भने सञ्चार माध्यमलाई पनि सत्यतत्य बुझेर मात्र समाचार सम्प्रेशण गर्न सचेत गराएको सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए ।
गत ११ फागुनमा नाबालिगमाथि पटक(पटक जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो। त्यस्तै, यही आरोपसहित शाहविरुद्ध नवलपुरमा पनि जाहेरी परेको थियो। शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए।