उद्योगपति चौधरीको ३ ठाउँबाट नाम सिफारिस, सहज छैन जित निकाल्न
रामकुमार श्रेष्ठ –
नवलपरासी ।
नेपालकै धनि व्यक्ति उद्योगपति विनोद चौधरी यस पटक प्रत्यक्षबाट संघीय सांसद हुनका लागि निर्वाचन क्षेत्र खोजिरहेका छन् ।
एक पटक नेकपा एमाले र एक पटक नेपाली काँग्रेस गरी २ पार्टीबाट २ पटक समानुपातिकतर्फबाट सांसद बनेको चौधरी यस पटक भने प्रत्यक्ष निर्वाचनबाट संसद हुनै पर्ने बाध्यता छ ।
४ वटा निर्वाचन क्षेत्र रहेको साविक नवलपरासीबाट उनले ३ ठाउँबाट आफ्नो उम्मेदवारी दावी गर्नु पनि उ्रद्योगपति विनोद चौधरी प्रत्यक्षबाट सांसद हुनलाई ठाउँ खोज्दैछन् भन्ने सहजै अड्कल लगाउन सकिन्छ । उनको नाम नवलपुर १, २ र नवलपरासी १ गरी ३ ठाउँबाट सिफारिस भएको छ ।
काँग्रेसको केन्द्रिय राजनीतिमा सिधै पहुँच राख्न सक्ने विनोद चौधरी ३ ठाउँबाट आफ्नो नाम सिफारिस सँगै आफ्नो लागि टिकट ल्याउन सक्छु भन्ने पक्षमा छन् ।
कुनै बेला उद्योगीहरुको कुरा राख्न उद्योगीहरुको अनुकुल कानुन बनाउन उद्योगपति नै संसदमा जानुपर्छ भनेर आवाज उठाउने चौधरी एमाले र काँग्रेस पार्टीको पालैपालो काखी च्यापेर समानुपातिकबाट सांसद भए । उनी अहिले नेपाली काँग्रेसका केन्द्रिय सदस्य हुन् । यस पटक पनि उनी जसरी पनि संसदमा छिर्ने दाउमा छन त्यो पनि नवलपरासीलाई कार्यक्षेत्र बनाएर ।
टिकट पाउन कति सहज ?
३ पटक नवलपुर १ बाट निर्वाचिन जितेका नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले यस पटक पनि नवलपुर १ बाट निर्वाचन लड्ने जनाएका छन् र उनले सोही अनुसार तयारी गरेका छन् । डा. कोइरालाले नवलपुर १ बाट सहजै चौधरीलाई बाटो खाली गरिदिने देखिदैन ।
त्यसैगरी नवलपुर २ बाट अघिल्लो पटक पराजित उम्मेदवार विष्णु कार्कीले पुन उम्मेदवारी दिने तयारी सहित विगत ३÷४ बर्षदेखि तयारी थालेका छन् । उनले स्थानीय क्लब, संघसंस्थालाई सहयोग गर्ने देखि लिएर धेरै कार्यक्रममा सबैभन्दा धेरै रकम सहयोगको बाचा गरेर धेरैको मन जित्ने प्रयास गरेका छन् । उनले पनि सजहै छाड्ने देखिनैन । त्यसो त कार्कीलाई प्रदेृश सभामा पठाएर निर्वाचन जितेको खण्डमा सरकार नेतृत्व गर्न सर्तमा मात्र चौधरीले आफ्नो लागि नवलपुर २ बाट बाटो बनाउन सक्ने छन् ।
त्यसैगरी नवलपरासी १ मधेषको राजनीतिमा प्रभाव राख्ने क्षेत्र हृदयष त्रिपाठीको निर्वाचन क्षेत्र हो । त्रिपाठीले जुन सुकै हालतमा र जुन सुकै अवस्थामा पनि निर्वाचन जित्न कम्मर कसेर लाग्छन् । पछिल्लो पटक नेपाली काँग्रेसका देवकरण कलवारले मात्र त्रिपाठीलाई हराउन सकेका थिए । कलावरले मधेषका प्रभावशाली नेता त्रिपाठीको गढ तोडेर काँग्रेसको किल्ला गाडेका कारण पनि नवलपरासी १ बाट आफूले पुन टिकट पाउनु पर्ने दावी गरेका छन् ।
त्यसो त विनोद चौधरी डा. शशांक कोइराला, विष्णु कार्की र देवकरण कलवार मध्ये कुनै एकलाई मनाएर आफ्नो लागि मैदान खाली गराउन सकिन्छ कि भनेर निक्कै लागि परेका छन् ।
सहज छैन जित
नवलपुर १ पटक पटक काँग्रेस निर्वाचन जितेको क्षेत्र हो । नवलपुर १ बाट अहिले गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले पनि दावी गरेका छन् । तथापि उनी चितवनबाट निर्वाचन लड्ने सम्भावना अत्यधिक छ ।
नवलपुर १ को निर्वाचनको इतिहास हेर्ने हो भने यहाँ अहिलेसम्म काँग्रेस मात्र जित निकालेको छ तथापि पछिल्लो संघीय निर्वाचनमा डा. शशांक कोइरालाले छिनो मत अन्तरले मात्र नेकपा माओवादी र नेकपा एमालेका साझा उम्मेदवार भविश्वर पराजुलीलाई हराउन सकेका थिए । पराजुली त्यति चर्चित उम्मेदवार नभएका कारण डा. कोइरालाले जित निकालेको राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ ।
यहाँ डा. कोइरालाले लगातार ३ पटक जित्दा पनि यस क्षेत्रको विकासका लागि केही नगरेको भन्दै काँग्रेस भित्रकै एक पक्ष कोइरालासँग रुष्ट छ भने काँग्रेसले पटक पटक जित्दा पनि केही नगरेको भन्दै आममतदातामा बढ्दो आक्रोशको कारण पनि उद्योगपति विनोद चौधरीले नवलपुर १ बाट टिकट पाइहाले पनि पनि जित्न त्यति सहज देखिदैन । कतिपयले चौधरीले पैसाको बल र सिजी उद्योगमा रहेका कर्मचारी र तिनका परिवारलाई आफूलाई भोट दिन दबाब दिएर भए पनि चुनाव जित्छन् कि भन्ने अडकल पनि काटेका छन् ।
नवलपुर २ पटक पटक नेकपा एमालेले निर्वाचन जितेको क्षेत्र हो । यसलाई एक ढंगबाट भन्नु पर्दा नेकपा एमालेको गढको रुपमा पनि व्याख्या गर्ने गरिन्छ । अघिल्लो पटक विष्णु कार्कीले निर्वाचन आफ्नो पक्षमा पार्न प्रचारप्रसारदेखि अन्य कार्यमा कुनै कसर बाँकी राखेका थिएनन् । यहाँ काँग्रेसले पैसा र प्रचारकै भरमा चुनाव जित्न सकिन्न भन्ने बुझिसकेको छ । त्यसमाथि अहिले नवलपुर जिल्लामा स्थानीय तहमा नेपाली काँग्रेसले ठूलो नोक्सानी व्यहोरेका कारण पनि अघिल्लो निर्वाचनको मत परिणामकै आधारमा काँग्रेसबाट उम्मेदवार बन्ने दाउमा रहेको चौधरीलाई निर्वाचन जितिहाल्छन् भन्न सहज अवस्था छैन ।
त्यसैगरी नवलपरासी १ हृदयश त्रिपाठीको गृह क्षेत्र हो । उनी पटक पटक यसै क्षेत्रबाट निर्वाचन लडेर पटक पटक निर्वाचन जित्दै आएका पनि छन । उनले पछिल्लो पटक भने आफ्नै पार्टीमा फुटक कारण पराजय बेहोर्नु परेको थियो र काँग्रेसका देवकरण कलवारले जित हात पारेका थिए । तर अहिले हृदशय त्रिपाठी चुनाव जित्नकै लागि भनेर निक्कै लामो समयदेखि आफ्नो कार्यक्षेत्रमै बसेर काम गरिरहेका छन् । जसका कारण उनले पहिलाको भन्दा अहिले स्थिति सुधार गरेका कारण यहाँबाट विनोद चौधरीले टिकट पाइहाले भने पनि जित निकाल्न फलामको चिउरा चपाउनु सरह हुने छ ।