मध्यविन्दु नगरपालिकाले खोलाबाट आफै नदिजन्य वस्तु निकालेर बेच्ने
रामकुमार श्रेष्ठ
नवलपरासी, २५ बैशाख । खोला तथा नदीमा यस आर्थिक बर्षको ठेक्का लगाउने समय सकिन लागेपछि पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले नदीजन्य वस्तु आफै निकालेर विक्री गर्ने भएको छ ।
मध्यविन्दु नगरपालिकाले अरुणखोलामा रहेको अरुणखोला नदीको नदीजन्य वस्तु आइईई गरेर निकासी गर्न मिल्ने ठाउँका नदीजन्य वस्तु आफै निकासी गरी टेण्डरमा विक्री गर्न थालेको हो ।
अरुणखोला नदीमा आजदेखि टेक्टरले नदीजन्य वस्तु निकासी गर्न पाउने
सम्भवतः नेपालमै यो नयाँ अभ्यास हुने छ । लामो समयसम्म नदीमा ठेक्का लाग्न नसकेपछि नगरपालिकाले यस्तो गर्न लागेको हो ।
मध्यविन्दु नगरपालिकाका नगरप्रमुख चन्द्रबहादुर रानाका सचिवालय सदस्य विनित वाग्लेका अनुसार अरुणखोलाको गिटी, बालुवा तथा ढुंगा नगरपालिका आफैले निकालेर एकठाउँमा जम्मा गरी सार्वजनिक सूचना निकालेर बढाबढमा विक्री गर्ने छ ।
जेठ मसान्तपछि खोलाबाट नदीजन्य वस्तु निकाल्न नमिल्ने र एक महिनाका लागि मात्र ठेक्का नलाग्ने भएको कारण यस्तो गर्न लागेको नगरपालिकाले जनाएको छ ।
मध्यविन्दु नगरपालिकाका उपप्रमुख ओमकुमारी महतोले यसका लागि सम्पूर्ण प्रक्रिया पुरा गरिसकेको र केही दिनमै नदीजन्य वस्तु निकालेर एक ठाउँमा स्टक गरेर राखिने काम शुरु हुने बताए ।
उनले भने – अन्य खोलाको ठेक्का लागे पनि अरुणखोलाको लगाउन सकिएन त्यसैले जिल्ला समन्वय समितिका संयोजकसँग परामर्श गरेर आईईई गरेर यो काम गर्न लागेका हौं ।
महतोका अनुसार जम्मा गरिएर राखिएका नदीजन्य पदार्थ सार्वजनिक सूचना जारी गरेर विक्री गरिने छ ।
मध्यविन्दु नगरपालिकाको राम्रो आम्दानीका स्रोत मानिने नदी तथा खोलाहरु मध्ये विनयी खोला, चोरमाराको गिरुवारी खोला लगायतका खोलामा ठेक्का लागेको भएपनि अरुणखोलामा भने ठेक्का लाग्न सकेको थिएन ।