बुटवल–नारायणगढ सडक विस्तारः चाइना स्टेट कम्पनीले सामग्री सप्लायर्सको ६० करोड भुक्तान नदिएको भन्दै सप्लायर्सहरुले घेरे कार्यालय

रामकुमार श्रेष्ठ –
नवलपरासी । बुटवल नारायणगढ सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीले सडक विस्तारको काम थालेको ३ बर्ष कटेको छ । सम्झौता अवधि सकिएर म्याद थप गर्दा समेत उसले जम्मा १८ प्रतिशतको हाराहारीमा मात्र काम सकेको छ ।
एकातिर सडक अलपत्र छ, अर्को तिर सडक धुलाम्य र खाल्डा खुल्डी भएर यात्रुलाई समेत सास्ती हुने गरेको छ भने अर्कोतर्फ सरकारले चाइना स्टेट कम्पनीसँग ठेक्का तोड्ने प्रक्रिया शुरु गरेको छ ।
बुटवल नारायणगढ सडक खण्ड विस्तारको जिम्मा पाएको चाइना स्टेट कम्पनीले सप्लायर्स कम्पनीहरुलाई ६० करोड बढी भुक्तान नदिएको भन्दै आइतबार कम्पनीको कार्यालय अगाडि धर्ना दिएका छन् । उनीहरुले आफूहरुले ९ महिनादेखि भुक्तान नपाएको भन्दै धर्ना दिएका हुन् ।

बुटवल नारायणगढ सडक खण्ड विस्तारको जिम्मा पाएको चाइना स्टेट कम्पनीले विभिन्न सप्लायर्स कम्पनीहरुलाई ९ महिनादेखि गरी ६० करोड बढी भुक्तान नदिएपछि सप्लायर्स कम्पनीका सञ्चालक र कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।
उनीहरुले आइतबार आजदेखि कावासोती नगरपालिका १० मगरकोट निर रहेको कम्पनीको कार्यालय अगाडि धर्ना शुरु गरका छन् । उनीहरुले नेपाली र चाइनिज भाषामा ब्यानर सहित धर्ना दिएका हुन् । उनीहरुले ६० करोड बढी रकम भुक्तान पाउन बाँकी रहेको आन्दोलनमा सहभागी नेपाल मेसिनरी एक्जिमका सञ्चालक निर्मल सरावगीले बताए । उनले आफूहरुले पाउनु पर्ने भुक्तान तत्काल नपाए धर्नामा बसिरहनुको विकल्प नभएको चेतावनी दिए ।
कम्पनीले माग गर्ना साथ आफूहरुले कुनै पनि काम नरोकियोस भनेर रड, सिमेन्ट, गिटी लगायतका निर्माण सामग्रीदेखि निर्माण उपकरणहरु रोलर, टिप्पर, एक्साभेटर लगायतका उपकरण तत्काल उपलब्ध गराएको भए पनि अहिले निर्माण कम्पनीले लामो समयदेखि भुक्तान नदिएर आफूहरुलाई अप्ठेरामा पारेका सप्लायर्स कम्पनीका कर्मचारी एवम् प्रतितिधिहरुले गुनासो गरेका छन् । ठेकेदार कम्पनीले ९ महिनादेखि रकम भुक्तान नगर्दा आफूहरु चल्नै नसक्ने अवस्थामा पुगेको र बैंकमा लोन तिर्नेदेखि कर्मचारीलाई तलब खुवाउन र आफूले समान ल्याउने गरेको कम्पनीहरुलाई रकम भुक्तान गर्न नपाउँदा आफूहरु समस्या परेको नेपाल मेसिनरी एक्जिम विरगञ्जका फाइनाइन्स प्रमुख रिया कोइरालाले बताए ।
सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीले कामको दौरानमा यस अघि पनि कर्मचारीहरुलाई तलब नदिएको, मजदुरहरुको पारिश्रमिकको कमिसन खाइदिने गरेको जस्ता घटनाहरु बाहिर आउने गरेका थिए ।

सप्लायर्सहरुले ठेकेदार कम्पनीका आधिकारिक व्यक्तिसँग प्रशासनमा बसेर छलफल गरी सहमति गर्नु पर्ने वा आफूहरुलाई तत्काल चेक दिनु पर्ने लगायतका माग राखेका छन् । नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले आफूलाई पनि यस विषयमा जानकारी आएको र तत्काल दुवै पक्षलाई बोलाइ छलफल गर्ने बताए ।
२०७५ साल माघ २४ गते सरकार र निर्माण कम्पनी बीच सम्झौता भएको थियो । विस्तार कार्यको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते बुटवलमा गरेका थिए ।
अहिले चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको ११४ किलोमिटर सडक निर्माणको काम गरिरहेको छ ।
हाल दुई लेन रहेको नारायणगढ–बुटवल सडक खण्डलाई विस्तार गर्दै कतै चार लेन, कतै ६ र तीन लेनको बनाउन लागिएको छ ।
गैंडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर काम शुरु गरिएको हो । तर काम शुरु गरेको ३ बर्ष वितिसक्दा पनि १८ प्रतिशतको हाराहारीमा मात्र काम भएपछि चाइना स्टेट कम्पनीको चौतर्फी आलोचना भएको छ ।
