पश्चिम नवलपरासीमा लोकतान्त्रीक बाम गठबन्धनका उमेदवार रोजगार, कृषि, स्वास्थ्य, शिक्षा, तथा पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकतामा


रामकरन हरिजन :
पश्चिम नवलपरासी : पश्चिम नवलपरासीमा लोकतान्त्रिक बाम गठबन्धनले रोजगार, कृषि, स्वास्थ्य, शिक्षा तथा पर्यटन क्षेत्रलाई विकास गर्ने पहिलो प्राथमिकतामा राखेको छ ।



अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसको तर्फबाट लोकतान्त्रिक बाम गठबन्धनका क्षेत्र नं २ का उम्मेदवार देबेन्द्र राज कंडेलले नवलपरासीको कृषि, स्वास्थ्य, शिक्षा तथा पर्यटकीय क्षेत्रहरुलाई विकास गर्ने पहिलो प्राथमिकतामा रहेको बताए ।

उनले भने, ‘२०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाद्वारा महेशपुर भन्सार कार्यालयलाई मुल भन्सारको रुपमा उद्घाटन गराएको हुँ । पहिलादेखि नै समाजमा निःस्वार्थ सेवा गर्दै आएको छु र गर्छु । नवलपरासी क्षेत्रमा रहेका उद्योगहरुमा यहीँका स्थानीयहरुलाई पहिलो प्राथमिकतामा राखेर रोजगार दिने गरी नियम बनाउन पहल गर्छु ।’




पत्रकार सम्मेलनमा क्षेत्र नं २ (क ) मा माओवादी केन्द्रको चुनाव चिह्न लिएर नेपाल समाजवादी पार्टीको तर्फबाट प्रदेशसभा सदस्य उम्मेदवार चिनक कुर्मीले गरिब मजदुरको समस्यालाई पहिलो प्राथमिकतामा राखेर बेरोजगार रहेका युवाहरुलाई स्वदेशमै रोजगारको व्यवस्था गरिने बताए । उनले भने, ‘८ घण्टाको १३ हजार रुपैयाँ तलब पाउने नियमलाई संशोधन गर्छौं र नेपालमा रोजगार नपाएर वैदेशिक रोजगारमा जानेहरुलाई सरकारले स्वदेशमै रोजगारको सिर्जना गर्ने व्यवस्था मिलाउँछौं ।’

यस्तै क्षेत्र नं २ (ख)मा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार बैजनाथ जैसवालले एमालेको सरकार भ्रष्टाचार गरेर ढलेको आरोप लगाए । उनले जिल्ला अस्पतालको रुपमा रहेको ५० शैय्याको पृथ्वी चन्द्र अस्पतालमा विशेषज्ञ डाक्टर राखेर विरामीहरुलाई सेवा प्रदान गरिने प्रतिबद्धता जनाए ।

समानुपातिकतर्फ नाम सिफारिस भएका नेपाली कांग्रेसका नेता राधेश्याम पाठकले एमालेको गठबन्धन प्रतिगमनकारीको भएको संकेत दिँदै जनताको बलिदानको पक्षधर बाम गठबन्धनलाई जनताले मतदान गर्ने दाबी गरे ।

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारले अगामी दिनमा लुम्बिनीसरह रामग्राम स्तुपा र पंडितपुरलाई बुद्ध सर्किट बनाउनका लागि छुट्टै रामग्राम विकास कोष खडा गर्न पहल गरिने बताए ।

कार्यक्रम संचालन नेपाल प्रेस युनियन पश्चिम नवलपरासीका अध्यक्ष पुर्षोत्तम सुवेदीले गरेका थिए ।



सम्बन्धित
Loading...