सुस्तामा डुंगा पल्टिंदा ३ जनाको निधन, २ जना गम्भीर

रामकुमार श्रेष्ठ –
नवलपरासी, १४ कात्तिक ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ४ नर्सही घोला स्थित नारायणी नदीमा सोमबार साँझ डुंगा दुर्घटना हुँदा ३ जना निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयका अनुसार सुस्ता गाउँपालिका ४ गोकुल नगर बस्ने स्थानीय युवाहरु वन भोज खाएर फर्कने क्रममा डुंगा दुर्घटना भएको हो ।
दुर्घटनामा परी सुस्ता गाउँपालिका ४ गोकुलनगर बस्ने २२ बर्षीय गुड्डु हरिजन, १८ बर्षीय निरज हरिजन र १८ बर्षीय रन्जित गुप्ताको निधन भएको हो ।
७ जना बनभोज खान गएकोमा ५ जना डुंगामा फर्किएका थिए । नारायणी नदीमा डुंगा पल्टदा डुंगाले च्यापेर बसेको अवस्थामा ५ जनाको उद्दार गरी ५ जनालाई नै वेहोस अवस्थामा उपचारका लागि बर्दघाटको चौपत्ता स्थित सहिद स्मृति अस्पताल चौपत्तामा पठाइएकोमा ३ जनाको स्वास्थ्यकर्मीले मृत घोषणा गरेको डिएसपी पाण्डेयले बताए ।
दुर्घटनामा परी सुस्ता ४ गोकुलनगरकै २२ बर्षीय किशोर हरिजन र १५ बर्षीय सोहित सहानी घाइते भएको र उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको सहिद स्मृति अस्पताल चौपत्तामा उपचार भईरहेको र थप उपचारका लागि अन्य अस्पतालमा रिफर गर्ने तयारी भईरहेको डिएसपी पाण्डेयले बताए ।
बनभोज खान गएका ७ मध्ये २ जना भने अन्य बाटो प्रयोग गरेर फर्किएका थिए । सुस्तामा लामोसमयदेखि झलुंगे पुल बन्न नसक्दा डुंगाको साहारामा नदी वारपार गर्न बाध्य हुने गरेको छ ।