विनोद चौधरीले आचारसंहिता उल्लंघन गरेः त्रिपाठी

रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासी क्षेत्र नं. १ का उम्मेदवार उद्योग पति विनोद चौधरीले आचारसंहिता उल्लंघन गरेको भन्दै अर्का उम्मेदवार हृदयश त्रिपाठीले आरोप लगाएका छन् ।
नेकपा एमालेको समर्थनमा जनता प्रगतिशिल पार्टीबाट उम्मेदवारी दिएका त्रिपाठीले बर्दघाटमा घरदैलोको क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै यस्तो आरोप लगाएका हुन् ।
उनले भने – यहाँ निर्वाचन आचारसंहिता व्यापक उल्लंघन भएको छ । सञ्चारकर्मीहरुले पनि यस विषयमा आवाज उठाइरहेका छैनन् । निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालयलाई मैले जानकारी गराएको छु । उहाँहरुबाट पनि अनुगमन भएको छैन । अब म अन्तराष्ट्रिय स्तरको अनुगमन टोली माग गर्दैछु ।

यस क्षेत्रबाट ५ पटक निर्वाचित भईसकेका त्रिपाठी अहिले छैठौं पटक जित निकाल्ने दौडमा छन् भने २ पटक समानुपातिकबाट सभासद भईसकेका उद्योग पति विनोद चौधरी यस पटक काँग्रेसबाट उम्मेदवारी दिएर ५ दलीय गठबन्धनबाट तेस्रो पटक सांसद हुन चुनावी मैदानमा उत्रिएका छन् ।
