उद्योगपति विनोद चौधरीका लागि देउवा र प्रचण्डले मागे भोट

रामकुमार श्रेष्ठ –
नवलपरासी, २९ कात्तिक । पश्चिम नवलपरासी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका उद्योगपति एवम् नेपाली काँग्रेसका केन्द्रिय सदस्य विनोद चौधरीका लागि प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोट मागेका छन् ।
मंगलबार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको चौपत्तामा आयोजित चुनावी सभालाई सम्बोद्धन गर्दै दुवै नेतृत्वले चौधरीको पक्षमा भोट मागेका हुन् । यहाँ चौधरीको प्रतिद्वन्दीको रुपमा नेकपा एमालेको समर्थनमा जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयष त्रिपाठी चुनावी मैदानमा छन् ।
चुनावी सभामा काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एक साथ हेलिकोप्टरबाट आएका थिए ।
सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाले संविधान बचाउनका लागि अहिलेको पांच दलीय गठबन्धन बनेको बताए ।
प्रधानमन्त्री देउवाले अहिलेको समावेशी सहितको संविधानका कारण नै महिलाहरुको ३३ प्रतिशत आरक्षण सुरक्षित भएको र अहिलेको संविधानकै कारण देशको प्रमुख पद अर्थात राष्ट्रपतिमा महिला पुगेको भन्दै यही संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको दावी गरे ।
देउवाले संविधान रक्षाकै लागि पाँच दलीय बाम–लोकतानित्रक गठबन्धनलाई जिताउनु पर्नेमा जोड दिदैं निर्वाचन पछि पनि गठबन्धन कायम रहने बताए ।
नेपाली कांग्रेसका क्षेत्रि नम्बर १ (२) का सभापति मुकुल आचार्यको अध्यक्षतामा भएको चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विनोद चौधरी एक सफल उद्योगी भएको कारण चौधरीलाई जिताउनु पर्ने बताए ।
पूर्व प्रधानमन्त्री प्रचण्डले गठबन्धनको भित्र केही समस्याहरु देखिएको भए पनि अहिले ति समस्याहरुलाई विर्सिएर पाँच दलिय संयुक्त गठबन्धनलाई जिताउनु पर्नेमा जोड दिए ।
उहाँ प्रदेश सभा सदस्यका लागि पश्चिम नवलपरासी १ ख मा गठबन्धन बीच अझै तालमेल हुन सकेको छैन । यहाँ काँग्रेसबाट देवकरण कलवार र माओवादी केन्द्रबाट रामानन्द यादवले उम्मेदवारी दिएका छन् । दुवैले आफू गठबन्धनको उम्मेदवार भएको दावी गर्दै चुनावी सभामा हिडेका छन् । देउवा प्रचण्ड दुवै नेताले यस विषयमा यहाँका चुनावी सभामा भने केही बोलेनन् ।
उद्योग पछि चौधरीले यस क्षेत्रमा आफुले जितेको खण्डमा विभिन्न प्रकारका उद्योगहरु खेल्ने र स्थानियवासीहरुलाई स्थानीय स्तरमा नै रोजगारीको ब्यवस्था गर्ने प्रतिबद्धता सहित मतदाताहरुसँग भोट माग्ने गरेका छन् ।