नवलपुर २ तिलक दोहोरिदै, कार्की रोक्दै, साना दल दुवैलाई चुनौती

नवलपरासी । मंसिर ४ को निर्वाचनको मिति नजिकिदै जाँदा नवलपुरको निर्वाचन क्षेत्र नं. १ मा चुनावी सरगर्मी व्यापक बढेको छ । नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र लगायत पाँच दलीय गठबन्धन, राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस विपी, हाम्रो नेपाली पार्टी लगायतका ठूला साना पार्टीहरु चुनावी मैदानमा छन् ।
नवलपुर २ बाट दोस्रो पटक जित निकाल्ने दाउका साथ नेकपा एमालेका तिलक महत चुनावी प्रतिप्रर्धामा छन् भने अघिल्लो पटकको हारको बदला लिने गरी नेपाली काँग्रेसका विष्णुकुमार कार्की पुन चुनावी मैदानमा उत्रिएका छन् । यहाँ प्रदेश सभा सदस्यका लागि नवलपुर २ क बाट नेकपा एमालेबाट पद्मा जिसी श्रेष्ठ र गठबन्धनबाट माओवादी केन्द्रका सोम श्रीपाली उच्च प्रतिप्रर्धामा छन् । त्यसैगरी नवलपुर २ ख बाट नेकपा एमालेका लक्ष्मणप्रसाद पाण्डे र गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका डा. गोपाल खनालबीच कडा प्रतिप्रर्धा हुने देखिएको छ ।
नवलपुर २ मा २०७४ को निर्वाचनमा प्रतिनिधि सभा तर्फ नेकपा एमालेका तिलक महत विजयी भएका थिए । त्यसैगरी प्रदेश सभा नवलपुर २ क बाट नेपाली काँग्रेसका विष्णु लामिछाने र प्रदेश सभा नवलपुर २ ख बाट नेकपा एमालेका जनकलाल श्रेष्ठले जित हात पारेका थिए । प्रतिनिधि सभा सदस्यका लागि ठूला दलले पुरानै अनुहारलाई चुनावी मैदानमा उतारेका छन् भने प्रदेश सभा सदस्यका लागि ठूला दलहरुले नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेका छन् ।
विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार विष्णुकुमार कार्कीलाई एक हजार तीन सय ३३ मतान्तरले पराजित गर्दै तत्कालीन वाम गठबन्धन तर्फबाट उम्मेदवार भएका तिलक महत विजयी भएका छन् ।
यसपालीको निर्वाचनमा गठबन्धनको समीकरण फेरिएको छ । गत निर्वाचनको परिणाम उल्ट्याउने दाउमा विष्णुकुमार कार्की चुनावी दौडमा छन् भने लगातार दोस्रो जीत निकाल्ने कसरतमा तिलक महत छन् । एमाले एक्लो रुपमा जिल्लामा चुनावी दौडमा रहेकाले पनि पाँचदलीय गठबन्धनको साथले सहज जीत निकाल्ने कांग्रेसको आँकलन छ। काँग्रेसका उम्मेदवार विष्णु कार्कीले भने – ‘अघिल्लो पटक म झिनो मत अन्तरले पराजित भएको हो । अहिले एमाले फुटेको छ, माओवादी केन्द्र पनि उक्त गठबन्धनमा छैन । माओवादी केन्द्र र एकीकृत समाजवादीका साथै गठबन्धनका अन्य दलहरुको मतले गर्दा मेरा जित सहज देखेको छु ।’
नवलपुरमा राप्रपासँग तालमेल गर्न खोजेको नेकपा एमालेले अन्तिम समयमा आएर राप्रपासँग तालमेल गर्न सकेन । एमाले नवलपरासी पूर्वमा एक्लै निर्वाचनमा उत्रिएको छ । तथापि दोस्रो जित निकाल्ने गरी तिलक महत र एमालेका नेता कार्यकर्ताहरु जोडतोडका साथ लागेका छन् ।
तिलक महतले भने – ‘पूर्वपश्चिम राजमार्ग स्तरउन्नती, नमुना सदरमुकाम, कालीगण्डकी कोरीडोर लगायतका योजनाहरु आफ्नो पालामा पारेको र ति योजनाहरुलाई पुरा गराउन यस पटक पनि मतदाताहरुले आफूलाई जिताउनेमा म ढुक्क छु ।’ महतले एमाले पार्टी संगठन नै ठूलो भएको कारण पनि आफ्नो जित निश्चित भएको दावी गरे। गत स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा पनि जिल्लाको क्षेत्र नं २ मा रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।
नवलपरासी पूर्वको निर्वाचन क्षेत्र नं २ मा कूल ४० वटा वडा छन् । स्थानीय तहको निर्वाचनमा ४० मध्ये एमालेले २२ वटा वडा जितेको थियो । कांग्रेस १६ वटा वडामा विजयी हुँदा राप्रपा र माओवादीले एक÷एक वडा जितेका छन्। यस्तै यस निर्वाचन क्षेत्रमा पर्ने पाँच स्थानीय तहमध्ये एमालेले चार वटा पालिका जितेको छ भने कांग्रेसले एउटा मात्र पालिका जितेको छ। गत स्थानीय निर्वाचनमा ४० वटा वडामा वडाध्यक्षका उम्मेदवारहरुले प्राप्त गरेको मत परिणामलाई हेर्दा नेकपा एमालेले ४२ हजार पाँच सय र कांग्रेसले ३८ हजार पाँच सय ८७ मत पाएको देखिन्छ। माओवादी केन्द्रले एक हजार सात सय ४२ मत, एकीकृत समाजवादीले एक सय ६२ मत पाएका थिए । यसरी स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवार हरुको मतलाई जोड्दा पाँचदलीय गठबन्धमा रहेका दलले ४० हजार चार सय ९१ रहेको छ भने एमालेका वडाध्यक्षले ४२ हजार पाँच सय मत पाएको देखिन्छ ।
स्थानीय तहको निर्वाचनमा प्रमुखले प्राप्त गरेको मतका आधारमा एमालेका पाँच पालिका प्रमुखले कूल ४१ हजार सात सय १९ मत प्राप्त गरेका छन् भने कांग्रेस र एकीकृत समाजवादीले ४१ हजार पाँच सय ४४ मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभा निर्वाचनतर्फ नवलपुर क्षेत्र नं २ मा ५६ मतदानस्थल र एक सय ४९ मतदान केन्द्रबाट एक लाख २९ हजार दुई सय ८० जनाले मतदान गर्न पाउनेछन् । यहाँ पुरुष मतदाता ६१ हजार सात सय ४०, महिला मतदाता ६७ हजार पाँच सय ३७ र अन्य मतदाता तीन जना छन् ।
२०७४ को निर्वाचनको मत परिणाम, अघिल्लो स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवार–हरुले पाएको मत परिणाम सबैमा एमाले भन्दा केही मत अन्तरले पछाडि देखिएका कार्कीलाई यस पटक चुनाव जित्नै निक्कै दौडधुप गर्नु पर्ने देखिन्छ ।
यता नेकपा एमालेका तिलक महत २०७४ निर्वाचनको मत परिणाममा होस या स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष वा पालिका प्रमुखहरुले पाएको मतमा अगाडि देखिए पनि स्थानीय तहकै मतलाई आधार मानेर जित निश्चित छ भनी ढुक्क भएर बस्ने अवस्था छैन ।
यहाँ राप्रपाका विष्णु अधिकारी, नेपाली जनता पार्टीका जगन्नाथ पोख्रेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सालिकराम न्यौपाने लगायतका नयाँ पार्टीका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरु टाउको दुखाईको विषय बन्ने देखिन्छ। उनीहरुले ठूला दलहरुको मत यस पटक काट्ने प्रवल सम्भावना रहेको छ ।
यिनीहरुले ठूला दलका काट्ने मतले ठूला दलका उम्मेदवारहरुका जितहारको अंकगणीतीय मतलाई प्रभाव पार्ने छ। जसले गर्दा पनि यहाँ कसले सजिलै जित्छ भनेर सजिलै भन्न सक्ने अवस्था छैन ।