मतपेटिका जलेको नवलपुरका देवचुलीमा स्थगित मतदान शुरु, समानुपातिकको मतदान भने भोलि हुने
रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीमा मत पेटिकामा आगलागी भएपछि रोकिएको मतदान प्रक्रिया पुन शुरु भएको छ ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले मतपेटिका जलेको मतदान केन्द्र पूर्वी नवलपरासीको देवचुली ४ मा रहेको शान्ति सिर्जना मतदान केन्द्रमा पुन मतदान शुरु भएको छ ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले भने – लाइनमा बस्नु भएका मतदाताहरुले मतदान गर्न शुरु गर्नुभएको छ । प्रदेश समानुपातिकको पुन मतदान हुने छ ।
नवलपरासी पूर्वको देवचुली–४ मा रहेको शान्ती श्रृजना मतदान केन्द्रको मतपेटिकामा आगजनी हुँदा प्रदेश सभातर्फको समानुपातिक मत रहेको पेटिकामा आगजनी भएको जिल्ला निवार्चन कार्यालयका प्रमुख लालप्रसाद भुसालले जानकारी दिए। भुसालका अनुसार उक्त क्षेत्रमा प्रदेश समानुपातिक तर्फको भोलि मतदान हुने छ ।
भुसालले भने – हामीसँग त्यस स्थानमा पुन मतदान गराउनका लागि प्रयाप्त निर्वाचन सामग्री छ त्यसैले भोलि नै पुन मतदान गर्ने छौं ।
आगजनी गर्ने देवचुली(४ का नारायण भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएका छ। भण्डारीले तीन वटा मतपत्र खसालीसकेपछि चौथौं अर्थात अन्तिम मतपत्र हाल्ने बेलामा पेटिकामा एसिड हालेका थिए।
मतपेटिकामा आगजनी गरेपछि भण्डारी भागेका थिए। मतदान केन्द्रबाट करिब २ किलोमिटर टाढा पुगेपछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले पक्राउ परेका भण्डारीलाई प्रहरी नियन्त्रणमा राखेर आवश्यक कारवाहीका लागि अनुसन्धान भईरहेको बताए । प्रहरी उपरीक्षक तिवारीले भण्डारीले कुनै केमिकल हालेर आगजनी गरेको हुनसक्ने बतए । तथापि भण्डारीले भने आफूले सरिरमा बढी लोसन दलेर गएर मतपत्रलाई बडिलोसन लगाएको शरिरमा घर्सेर मतपेटिकामा हाल्दिएको शुरुवाती बयान दिएको तिवारीले बताए ।