पश्चिम नवलपरासीको प्रतापपुरमा उखु बालीमा आगो लाग्दा लाखौको क्षति
पश्चिम नवलपरासीको प्रतापपुरमा उखु खेतिमा आगो लाग्दा झन्डै १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । प्रतापपुर ५ बेतहानीमा आज दिउसोँ स्थानिय सात जना किसानको ४ विगाहा ८ कठ्ठा क्षेत्रफलमा लगाईएको उखुमा आगो लाग्दा १२ लाख ९८ हजार बराबरको क्षति भएको हो ।
स्थानिय र प्रहरीको सहयोगले आगो नियन्त्रणमा लिएपनि आगो के कति कारणले लागेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।
सो आगलागीमा सबैभन्दा बढि बेलास सिंहको दुई विगाहामा लगाएको उखु जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक नवराज केसिले जानकारी दिनुभयो ।
यसैगरी भिकारी कुर्मिको १६ कठ्ठा, जुगुल गुप्ताको ७, रामदुलार लोनियाको ५, संजय पासिको १२, महेन्द्र पासि र रविन्द्र पासिको ४÷४ कठ्ठामा लगाईएको उखु बालीमा आगो लागेको हो ।
अहिले उखु क्रसिङ्ग गर्ने समय भएकाले किसानहरु उखु काटेर बेच्ने तयारीमा रहेका बेला उखु खेतमा आगो लागेपछि चिन्ती भएका छन् । आगो फैलिएपछि प्रहरी र स्थानियले उखु खेतको बिचमा उखु फाडेर अग्नी रेखा बनाई आगो नियन्त्रणमा लिएका थिए ।