हुप्सेकोटको काँक्रोले पाएन बजार भाउ
काम गर्ने किसान नाफा खाने विचौलिया, किसान लगानी नउठ्ने चिन्तामा
रामकुमार श्रेष्ठ —
नवलपरासी । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा उत्पादित काँक्रो अहिले काठमाडौं, भक्तपुर, ललितपुरदेखि पोखरा, बुटवलसम्म पुगेको छ । देशका ठूला ठूला सहरहरुमा यहाँको काँक्रोको माग बढ्दो छ ।
भक्तपुरे काँक्रोको नामले परिचित यहाँको काँक्रोको माग व्यापक भए पनि बजार भाउ भने पाउन सकेको छैन । बजारमा खुद्रा खरिद गर्दा ८० देखि १ सय रुपैयाँ प्रतिकिलोसम्म पर्ने हुप्सेकोटको काँक्रो किसानले भने अहिले प्रतिकिलो २० रुपैयाँ भन्दा कममा बजारमा पठाउन परेको छ ।
हुप्सेकोट गाउँपालिका वडा नं. १ का ५ सय बढी किसानहरुले व्यवसायिक तरकारी खेती गर्दछन् । यहाँ अहिले गाउँ भरी नै काँक्रोबारी छ । काँक्रोको सिजन सकिना साथ टमाटर लगाउने तयारीमा छन् । हुप्सेकोट १ का अधिकांश बासिन्दाले ३ कठ्ठादेखि १ विगाहासम्ममा काँक्रो खेती गर्दै आएका छन् ।
यस बर्ष मात्रै यहाँ करिब १ सय २५ विगाहामा काँक्रो खेती गरिएको छ । तर बजार भाउ नपाउँदा यहाँका किसानहरु चिन्तित भएका छन् । हुप्सेकोट १ का किसान भरत परियार भन्छन् – ‘काँक्रोले बजार भाउ नपाउँदा लगानी पनि नउठ्ने हो कि भन्ने डर भएको छ।’
किसानको मेहनत पनि उत्तिकै लाग्छ । लगानी पनि उत्तिकै । काँक्रो बिउ राख्दादेखि तयारी भएर बजार पठाउँदासम्म कम्तिमा ४ महिनादेखि ५ महिना समय लाग्ने गर्दछ । यो अवधिमा प्रति कठ्ठामा ३० हजार बढी किसानकै लगानी लाग्छ । तर अहिले बजार भाउँ नपाउँदा सस्तैमा पठाउन बाध्य भएको हुप्सेकोटकी किसान सोनी राना बताइन् । उनले ३ कठ्ठामा काँक्रो लगाएकी छिन्। काँक्रोको बजार भाउ राम्रो भए साढे २ लाखसम्म र बजार भाउ यस्तै रहे २ लाखसम्म आम्दानी हुने बताइछिन् । तर, अवस्था यही गए वा माघ लागेपछि काँक्रोको भाउ नबढे यस पटक घाटामा जानेमा उनी चिन्तित छिन् ।
त्यसो त किसानहरुलाई बजारको भने समस्या छैन । खेतमै काँक्रो लिन व्यापारीहरुकाठमाडौंदेखि यहाँ आइपुग्छन् । १ दिन अगावै फोन गरेर काँक्रो अर्डर पनि लिन्छन तर किसानले आफूले उत्पादन गरेको काँक्रो आफैले बजार भाउ तोक्न नपाउँदा समस्या भएको छ ।
एक महिना अगाडि ५० रुपैयाँ प्रतिकिलो विकेको काँक्रो अहिले प्रतिकिलो २० रुपैयाँमा झरेको छ । त्यति मात्र होइन, किसानको लगानी नउठ्ने चिन्ता समेत किसानलाई बढेको स्थानीय किसान धनमाया रानाले बताइन् ।
किसानहरुले गाउँमा किसान समूह पनि गठन गरेको छ । वडा कार्यालय र हुप्सेकोट पालिकाले किसानको कृषि उपज बजार व्यवस्थापनका लागि पहल गरेको पनि दावी गरेका छन् तर काम गर्ने कालु मकै खाने भालु भने झै मेहनत गर्ने किसान, नाफा खाने भने बिचौलियाहरु भएका छन् । किसानका यस्ता उत्पादनको बजार मूल्य सरकारले आफै निर्धारण गरिदिने गरे किसानहरु प्रत्यक्ष लाभांवित हुने थिए ।