गण्डकीमा ४ सदस्यीय मन्त्रिमण्डल गठन, मुख्यमन्त्रीमा अधिकारी

पोखरा, २५ पुस । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिमण्डल गठन गरेका छन् । नेकपा (एमाले) संसदीय दलका नेता अधिकारी सोमबार ३३ सदस्यको समर्थनमा प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त भएका हुन्।
नियुक्तिसँगै उनले एमाले, माओवादी र राप्रपाका ३ सदस्यलाई बिनाविभागीय मन्त्रीको जिम्मेवारी दिएका हुन् । जसमा माओवादी केन्द्रका हरिबहादुर चुमान (तनहुँ), राप्रपाका पन्चराम गुरुङ (स्याङ्जा) र एमालेकी सीता सुन्दास (स्याङ्जा) ले मन्त्रीमा नियुक्त भएका हुन् ।
उनीहरुलाई नवनियुक्त मुख्यमन्त्री अधिकारीको उपस्थितिमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।
को हुन् मुख्यमन्त्री अधिकारी ?

पाेखरा । २०३२ सालमा नेकपा एमालेको सदस्यता लिएसँगै सक्रिय राजनीतिका रहेका खगराज अधिकारी लामो समय भूमिगत राजनीतिक जीवन बिताएका छन् । २०३६ सालमा विद्यार्थी आन्दोलनका अगुवाइ गरेका उनी २ पटकसम्म पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति बने । स्ववियु सभापतिलाई राजनीतिको टर्निङ प्वाइन्ट मान्छन् ।
नेपालीमा स्नातकोत्तर गरेका उनको जन्म २०१८ सालमा कास्कीको वेगनासमा भएको हो । पञ्चायतविरुद्धको आन्दोलनका अग्रमोर्चामा रहेर नेतृत्व गरेका अधिकारीले ५ वर्ष जेल जीवन बिताएका छन् । अधिकारी २०४६ सालमा नेकपा एमाले कास्कीको सचिव र २०५० देखी ५३ सम्म पार्टी अध्यक्षको जिम्मेवारीमा थिए ।
एमालेको आठौं महाधिवेशनबाट केन्द्रिय कमिटी सदस्य र पोलिटव्युरो सदस्य समेत बने । नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा १ मतले मात्रै पराजित उनी एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य बनेका थिए ।
तत्कालीन गण्डकी अन्चल कमिटीको सचिव हुँदै संयोजक बनेका अधिकारी पहिलोपटक २०५१ सालमा कांग्रेसका प्रभावशाली नेता तारानाथ रानाभाटलाई हराउँदै कास्की क्षेत्र १ बाट निर्वाचित भई प्रतिनिधिसभा सांसद बनेका थिए । त्यससमय तत्कालीन एमाले संसदीय दलका नेता रहेका मनमोहन अधिकारीले उनलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए । उनी २०५६ र २०६४ सालको निर्वाचनमा उम्मेदवार बने पनि पराजित भए ।
२०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको मन्त्रिपरिषद्मा स्वास्थ्यमन्त्री बनेका अधिकारीले नेपालमै पहिलोपटक स्वास्थ्य बिमा कार्यक्रम ल्याएका थिए । आफ्नो कार्यकालमा स्वास्थ्य मन्त्रालयको वेथिति चिर्न सफल बनेका उनी सफल स्वास्थ्यमन्त्रीको रुपमा परिचित छन् ।
नेपालको संविघान जारी भइसकेपछि २०७३ सालको प्रतिनिधि सभामा कास्की १ बाट करिब १४ हजार मतान्तरले निर्वाचित अधिकारी एमालेको संसदीय दलको प्रमुख सचेतक बनेका थिए ।
केपी ओली प्रधानमन्त्रीको पालामा उनी २ साताको लागिमा मात्र गृहमन्त्री नियुक्त भएका थिए । सादा राजनीतिक जीवन, कार्यकर्तामा अत्यन्तै सरल रुपमा प्रस्तुत हुने उनलाई कार्यकर्ताहरु विकासप्रेमी नेताको रुपमा लिने गर्दछन् ।
गएको ४ मंसिरको चुनावमा उनी कास्की क्षेत्र १(१) मा प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै मुख्यमन्त्रीको बाटो खोलेका हुन् ।