जापानमा रहेका नेपालीले पठायो मृगौला रोगीका लागि उपचार खर्च – video

रामकुमार श्रेष्ठ —
नवलपुर । पूर्वी नवलपरासीको कावासोती ९ निवासी मृगौला रोगी निलबहादुर थापाको उपचारका लागि जापानमा रहेका कावासोतीका बासिन्दाहरुले सहयोग गरेको छ ।
कावासोती ३ निवासी गोकुल चापागाईको पहलमा जापानमा रहेका कावासोतीका बासिन्दाहरुले उक्त रकम संकलन गरेर पठाएको हो । संकलित रकम दाउन्ने साप्ताहिक मार्फत मृगौला रोगीलाई सोमबार हस्तान्तरण गरिएको छ ।
उक्त रकम गोकुल चापागाईका बुवा तुलसीराम चापागाईले हस्तान्तरण गरेका थिए । तुलसी राम चापागाईले ५० हजार रुपैयाँमा ५ हजार आफ्नोतर्फबाट थप गरी ५५ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रम निलबहादुर थापा बचाउ अभियानका सदस्य बाबुराम केसीले अभियानका बारेमा जानकारी गराएका थिए । त्यसैगरी पं. विष्णु प्रसाद पोख्रेलले रकम हस्तान्तरण कार्यक्रमको सञ्चालन गरेका थिए ।
निलबहादुर थापा बचाउनका लागि जापानबाट गोकुल चापागाईले ५ हजार, लक्ष्मण थापाले ५ हजार, शंकर गोतामेले ५ हजार, किरण र कविता पौडेलले ५ हजार, नारायण र सूचना जोशीले ५ हजार, एलिजा श्रेष्ठले ५ हजार, दीपक गिरीले ५ हजार, यादव केसीले ५ हजार, प्रशान्त सापकोटाले ३ हजार, लक्ष्मी तितुंगले २ हजार, आशिस जोसीले २ हजार, नसिब श्रेष्ठले २ हजार, कमल जिसीले २ हजार, विष्णु चापागाईले १ हजार १ सय, भानु ढकालले १ हजार र नारायण आचार्यले १ हजार जापानी ऐन सहयोग गरेको र अझै सहयोग आउने क्रम जारी रहेको गोकुल चापागाईले बताए ।
एनके आर्टको रुपमा चर्चित कावासोतीका निलबहादुर थापाको अहिले दुवै मृगौलाले काम गर्न छाडेपछि डाइलायसिस गरिरहेका छन् । मृगौला प्रत्यारोपणका लागि घरका आफन्तको मृगौला नमिलेको र खोजी कार्य जारी रहेको निलबहादुरका परिवारले जनाएका छन् ।
निलबहादुर थापा बचाउ अभियानका लागि स्थानीय स्तरबाट पनि सहयोग भईरहेको कावासोतीका जनप्रतिनिधि रेशमी परियारले बताइन् ।